पाकिस्तानको बलुचिस्तानमा गम्भीर कुपोषणको समस्याः ४९ दशमलव ६ प्रतिशत बालबालिका जोखिममा



बलुचिस्तान— पाकिस्तानको बलुचिस्तानमा हालै गरिएको पोषण सर्वेक्षणले ४९ दशमलव ६ प्रतिशत बालबालिकामा कुपोषणको समस्या रहेको देखाएको छ, जसले स्वास्थ्य विशेषज्ञहरूलाई गहिरो चिन्तित बनाएको छ। बलुचिस्तान पोस्टका अनुसार, यस क्षेत्रमा सबै ३६ जिल्ला समेटेर झन्डै आधा बालबालिकाले खाद्य असुरक्षाको गम्भीर स्थिति भोगिरहेका छन्।

चिकित्सा विज्ञहरूले कुपोषणले बालबालिकाको शारीरिक र मानसिक विकासलाई प्रभाव पार्नुका साथै उनीहरूको रोग प्रतिरोधात्मक क्षमतामा समेत कमी ल्याउने बताउँछन्। यसले गर्दा यी बालबालिका दादुरा जस्ता साधारण रोगहरूप्रति पनि गम्भीर रूपमा संवेदनशील बन्दै गएका छन्। धेरैजसो बालबालिकाको तौल र शारीरिक विकास उनीहरूको समकक्षीहरूसँग तुलनात्मक रूपमा निकै कम छ।

विशेषज्ञहरूले यस्ता बालबालिकाका पोषण आवश्यकता पूरा गर्न विशेष उपचार र निगरानी आवश्यक रहेको बताउँछन्।

बलुचिस्तानमा २०१८ देखि पोषण आपत्कालीन अवस्था रहेको जनाइएको छ। तर, आवश्यक बजेट उपलब्ध नभएकाले सम्बन्धित विभागहरूले यो संकट समाधानका लागि प्रभावकारी रणनीति कार्यान्वयन गर्न सकेका छैनन्। पोषण निर्देशनालयले आवश्यक स्रोत अभावमा प्रभावकारी समाधान दिन असमर्थ रहेको बताइएको छ।

क्षेत्रका विशेषज्ञहरूले गरिबी, खराब स्तनपान अभ्यास, बाढी र खडेरीजस्ता प्राकृतिक विपत्ति, र खाद्य अभावलाई प्रमुख कारणका रूपमा औंल्याएका छन्। ती चुनौतीहरूको सामना गर्न तत्काल हस्तक्षेप आवश्यक रहेकोमा उनीहरूले जोड दिएका छन्।

यसअघि युनिसेफले बलुचिस्तानसहित १२ देशमा झण्डै २० लाख बालबालिकाले गम्भीर कुपोषणको समस्या भोगिरहेको चेतावनी दिएको थियो। युनिसेफका अनुसार, जीवनरक्षक रेडी—टु—युज थेराप्युटिक फूडको अभावले ती बालबालिका थप जोखिममा परेका छन्। पाकिस्तानलगायतका १२ देशहरूमा पर्याप्त वित्तीय स्रोत उपलब्ध नगरिए, स्थिति अझै गम्भीर बन्न सक्ने युनिसेफले जनाएको छ।

प्रकाशित मिति : १७ पुस २०८१, बुधबार  ९ : ३० बजे