काठमाडौं – युरोपमा रहेकी पराराष्ट्रमन्त्ती आरजु राणा देउवा जुन आशा र अपेक्षा लिएर सिधै भारत पुगेकी थिइन् तर उनको त्यो अपेक्षा पुरा हुन सकेन । सपथ ग्रहणको समय देखि नै प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणमा चासो देखाएपनि उनको त्यो अपेक्षा पुरा हुन सकेको छैन । अहिले प्रधानमन्त्रीको भ्रमण मिलाउन भन्दै आरजु भारत पुगेपनि भारतको चिसो व्यवहारले उनको भ्रमण नै खल्लो बनेको छ ।
परराष्ट्रमन्त्री राणाले दिल्लीमा सामना गर्नु परेको चिसो व्यवहारको मनोवैज्ञानिक तथा राजनीतिक दबाब भने प्रधानमन्त्री ओलीमाथि परेको छ
। ओलीले चाहेको भारत भ्रमण तत्काललाई अनिश्चित बनेको छ । राणासँग भेट्दा नेपालमा अनेकथरी टिप्पणी हुने र पछि गएर सत्ता गठबन्धनमा कुनै गडबडी भए आफूमाथि नै आरोप आउने भन्दै भारतले जानाजान नै आरजुलाई बेवास्ता गरेको स्रोतको दाबी छ ।
मंसिर २० गते ४ दिने चीन भ्रमणबाट स्वदेश फर्किदा प्रधानमन्त्री केपी शर्मा ओलीले विमानस्थलमै भनेका थिए, ‘अब भारततिरको पनि भ्रमण हुन्छ, छिट्टै एरेन्ज हुन्छ ।’ त्यसको केही दिनपछि गृहजिल्ला झापा पुगेर एक कार्यक्रममा उनले भने, ‘चीन भ्रमणबाट थुप्रै कुरा भएका छन् । अब मान्छेले पत्याएका छैनन् होला, म केही समयपछि भारत भ्रमणमा पनि जान्छु । त्यस भ्रमणबाट आश्चर्यजनक उपलब्धि हासिल हुनेछ ।’
तर, प्रधानमन्त्री ओलीको भारत भ्रमण मिलाउन युरोपबाट सिधै नयाँ दिल्ली पुगेकी परराष्ट्रमन्त्री आरजु राणा देउवाले भने भारतीय पक्षबाट अनपेक्षित रुपमा चिसो स्वागत पाइन्। भारतीय समकक्षी एस. जयशंकरसँग भेटेर यही पुष २५ गतेदेखि प्रधानमन्त्री ओलीको भारत भ्रमणको तालिका मिलाउने दाबी गरिएको थियो । तर, यही महिनाभित्र प्रधानमन्त्री ओलीको भारत भ्रमण निश्चित हुने कुनै छेकछन्द देखिएको छैन ।
शुक्रबार नयाँ दिल्लीमा मन्त्री राणाले नेपाल–भारत आर्थिक सम्मेलनलाई सम्बोधन गरिन् । सम्मेलन फाउन्डेसन फर इकोनमिक ग्रोथ एण्ड वेलफेयरले काठमाडौं विश्वविद्यालयसँगको सहकार्यमा आयोजना गरेको थियो । यो सम्मेलन दुई देशका व्यावसायिक क्षेत्रका नेता तथा लगानीकर्ताको संवाद मञ्च हो ।
सम्मेलनमा राणाले भनिन्–‘भारतसँगको हाम्रो सम्बन्ध उच्च मूल्यवान छ । हाम्रो सम्बन्ध सामाजिक–सांस्कृतिक रुपमा मात्र गहिरो छैन, व्यापार, वाणिज्य र कनेक्टिभिटीसम्म फैलिएको छ ।’ उनले नेपालमा लगानी गर्न भारतीय उद्योगी व्यवसायीलाई आव्हान पनि गरिन् । सम्मेलनमा भारतीय पक्षका उच्च अधिकारीहरू भने उपस्थित थिएनन् । नीति आयोगका एक सदस्य अरविन्द वीरमणीले भाग लिएका थिए । पूर्वराजदूत, पूर्वप्रशासक तथा व्यावसायिक क्षेत्रका व्यक्तित्व भने सम्मेलनमा देखिएका थिए ।
आरजुलाई भारतीय पक्षको बेवास्ता
भदौको पहिलो साता पहिलो पटक परराष्ट्रमन्त्रीको रुपमा आरजु राणा भारत जाँदा भव्य स्वागत भएको थियो । राणाले नयाँ दिल्लीमा ‘प्रधानमन्त्री सरहको ट्रिट’ पाएको भन्दै व्यापक चर्चासमेत भयो । प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल समेतलाई राखेर आरजुसँग विशेष भेटघाट गरेका थिए । समकक्षी जयशंकरसँग उनले द्विपक्षीय वार्ता गरेकी थिइन् । आरजुको त्यतिखेरको दिल्ली भ्रमणबारे अनेक अर्थ लगाइएको थियो ।
एकातिर उनले ओली सरकारप्रतिको भारतीय आशङ्कालाई सन्तुलन गरेको भनिएको थियो भने अर्कोथरिले ओलीप्रतिको असन्तुष्टि साङ्केतिक रुपमा व्यक्त गर्न राणालाई ‘उच्च महत्त्व’ दिइएको अर्थ निकालेका थिए । भारत ओली सरकारप्रति खासै सन्तुष्ट छैन र छिट्टै देउवा नेतृत्वको सरकार बन्ने प्रतीक्षामा छ भन्ने कूटनीतिक अर्थमा राणाको स्वागतलाई हेरिएको थियो ।
यसपटक भने आरजुको भ्रमणलाई लिएर दिल्लीमा कुनै उत्साह देखिएन । भारतीय पक्षले दिल्लीमा आरजुको उपस्थितिलाई बेवास्ता गर्न खोजेको प्रष्ट देखिन्छ । भारतीय पक्षसँग पहुँच बनाउन मन्त्री राणा आफैँले अथक प्रयत्न गरेकी थिइन् । तथापि उनले ‘चिसो प्रतिक्रिया’ पाइन् । भारतीय नेतृत्व परराष्ट्रमन्त्री राणासँग औपचारिक भेट गर्नसमेत अनिच्छुक देखिएको छ । राणाले प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, रक्षामन्त्री राजनाथ सिंह, विदेशमन्त्री एस।जयशंकर, प्रधानमन्त्रीका सुरक्षा सल्लाहकार अजित डोभाल, विदेश मन्त्रालयका सचिव विक्रम मिश्री लगायतसँग भेट्ने प्रयत्न गरेकी थिइन । तर, यी कसैले पनि राणालाई भेट दिएनन् ।
घटनाक्रमबाट भारत प्रधानमन्त्री ओलीको भ्रमणका लागि इच्छुक नभएको देखिएको छ । परराष्ट्रमन्त्री राणालाई भेट समेत नदिएर भारतीय पक्ष नेपाल मामिलामा फस्न नचाहेको देखिएको छ । जानकारकाअनुसार राणासँगको भेटबाट भारत योजनावद्ध रुपमै तर्किएको हो । राणासँग भेट्दा नेपालमा अनेकथरी टिप्पणी हुने र पछि गएर सत्ता गठबन्धनमा कुनै गडबडी भए आफूमाथि नै आरोप आउने भन्दै भारत जानाजान पछि हटेको स्रोतको दाबी छ ।
यदि केहीगरी आन्तरिक कारणले नेपालमा गठबन्धन परिवर्तन भयो भने ओलीले बीआरआई गरेका कारणले मेरो सरकार ढल्यो भन्दै कार्ड खेल्न सक्ने भारतको बुझाई छ ।
अर्कातिर भारत आफैँ दक्षिण एसियाका देशसँगको सम्बन्धलाई लिएर लफडामा फसेको छ । बङ्गलादेश, माल्दिभ्स र श्रीलङ्कामा भएका पछिल्ला परिवर्तनले भारत चिन्तामा देखिन्छ । यस्तो अवस्थामा नेपालको आन्तरिक झमेलामा फसेर भारतले थप जोखिम मोल्न नचाहेको कतिपय जानकार बताउँछन् ।
यता बीआरआई फ्रेमवर्कमा हस्ताक्षरले काङ्ग्रेसमा अन्तरविरोध चर्कने र त्यसले गठबन्धनमै असर पर्नसक्ने सम्भावना पनि भारतले आकलन गरिरहेको छ । ‘नेपालमा आफ्नै कारणले राजनीति तलमाथि हुँदा पनि आफूमाथि आरोप आउने गरेको विश्लेषणसहित भारत यसपटक आरजुसँग टाढा बस्न चाहेको हो ।’ स्रोत भन्छ ।
भूराजनीतिक मामिलाकी विश्लेषक डा। इन्द्र अधिकारी प्रधानमन्त्री ओलीको भ्रमण भारतीय पक्षको प्राथमिकतामा नरहेको जस्तो देखिएको बताउँछिन् । ‘आफ्नो प्राथमिकतामा नरहेको विषय भएकाले भारतीय पक्ष आरजुसँग वार्तामा बस्न नचाहेको हुनसक्छ ।’ उनी भन्छिन् ‘एक त परराष्ट्रमन्त्रीको यो भ्रमण औपचारिक थिएन अर्को आफू अनिच्छुक रहेको विषयमा व्यस्त समय निकालेर संवादमा बस्नु उनीहरुको प्राथमिकतामा पर्ने कुरा भएन ।’
ओली–मोदी अविश्वास
भारत वर्तमान ओली–देउवा गठबन्धनप्रति प्रारम्भदेखि नै खासै उत्साहित थिएन । कूटनीतिक क्षेत्रका जानकारको बुझाई के छ भने भारत २०७९ मा राष्ट्रपति, उपराष्ट्रपति निर्वाचन ताका बनेको माओवादी केन्द्र–नेपाली काङ्ग्रेस गठबन्धन कायम रहोस भन्ने चाहन्थ्यो । तर, नेपालभित्रका अनेक आन्तरिक कारणले त्यसो हुन सम्भव भएन । स्वयं तत्कालीन प्रधानमन्त्री प्रचण्ड कोल्टे फेरेर एमालेसँगको सत्तासाझेदारीमा पुगे । अन्ततः गत आषाढ १५ गते काङ्ग्रेस र एमाले नै नयाँ गठबन्धन बनाउने निष्कर्षमा पुगे ।
भारत प्रधानमन्त्री ओलीले पछिल्लो कार्यकालमा चीनबाट विदेश भ्रमण सुरुवात गरेको कारण पनि असन्तुष्ट भएको हुन सक्दछ । त्यसो त चीनसँग नेपालको बीआरआई कार्यान्वयन सम्झौता समेत भएको छ । यसले पनि भारतीय मनोविज्ञानलाई प्रभावित गरेको हुन सक्दछ । तर, स्रोतका अनुसार भारतको मुख्य असन्तुष्टि यीभन्दा बढी स्वयं प्रधानमन्त्री ओलीको द्वैध चरित्रसँग हो ।
प्रधानमन्त्री ओलीका अघिल्ला कार्यकालमै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको सम्बन्ध अनेक उतारचढावबाट गुज्रिएको थियो । ओलीले अघिल्ला कार्यकालमा विभिन्न आन्तरिक प्रतिबद्धता गरेको तर, तिनको पालना नगरेको मोदी निकट स्रोतको दाबी छ ।
स्रोत भन्छ, ‘ओली सत्तामा टिकिरहन आन्तरिक रुपमा भारतको समर्थन खोज्छन्, अनेक प्रतिबद्धता गर्छन् तर, बाहिर भने राष्ट्रवादको सस्तो राजनीति गर्न र चाइना कार्ड खेल्न पछि पर्दैनन् । भारतीय पक्षलाई इरिटेट गर्ने अनेक झिनामसिना कुरा गरिरहेका हुन्छन् । अहिलेको स्थिति नेपाल–भारत दीर्घकालिन सम्बन्धभन्दा पनि ओली–मोदी अविश्वासबाट निर्धारित छ ।’
परराष्ट्रमन्त्री राणाले दिल्लीमा सामना गर्नुपरेको चिसो व्यवहारको मनोवैज्ञानिक तथा राजनीतिक दबाब भने प्रधानमन्त्री ओलीमाथि परेको छ । ओलीले चाहेको भारत भ्रमण तत्काललाई अनिश्चित बनेको छ
प्रतिक्रिया