काठमाडौँ- झापाको दमक नगरपालिका वडा नं ३ मा बनेको दमक भ्युटावर निर्माणमा स्थानीय सरकारलाई बेवास्ता गरिएको छ।
यतिसम्म कि स्थानीय सरकारसँग गर्नुपर्ने कुनै पनि काम नगरी पेलेका भरमा भ्युटावर निर्माण गरिएको देखिएको हो।
भ्युटावर निर्माणको नक्सापास पनि नगरपालिकामा गरिएको छैन। सोही टावरको आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका हुन्। उक्त टावर निर्माणको शिलान्यास पनि उनले नै गरेका थिए।
टावर निर्माणका लागि गरिनुपर्ने वातावरणीय प्रभाव मूल्यांकन पनि गरिएको छैन। सोही विषयमा झापाका एक पालिकाका एक जना प्रमुख प्रशासकीय अधिकृतले आश्चर्य प्रकट गरे।
यति ठूलो आयोजना आइईई पनि नगरी कसरी निर्माण भयो भन्दै उनले आश्चर्य प्रकट गरे। कर्मचारीहरूले ‘ठूलाले नै स्थानीय सरकारलाई नगनेको’ भन्दै टिप्पणी गरेका छन्।
टावर निर्माण भएर उद्घाटन भइसके पनि अहिलेसम्म कसरी सञ्चालन गर्ने भन्ने विषय टुंगो लागेको छैन। तर उद्घाटनका बेला प्रधानमन्त्री ओलीले ‘यहाँ जग्गाको मूल्य बढेको बढ्यै छ’ भन्दै स्थानीयबासीलाई ‘मख्ख’ पार्ने कोशिस गरेका थिए।
१ सय मिटर अग्लो भ्यु टावर १८ तले छ । दमक बजारबाट करिब तीन किलोमिटर उत्तरपश्चिममा रहेको टावर करिब डेढ अर्ब रुपैयाँको लागतमा ५ वर्षमा निर्माण सकिएको हो । तर, टावर सञ्चालनका लागि आवश्यक व्यवस्थापनको मोडालिटी र ठोस कार्ययोजना बन्न सकेको छैन ।
प्रतिक्रिया