भारतमा प्रवेश—स्तर कामदारकाे तलब तीव्र वृद्धि हुने प्रक्षेपण



नयाँ दिल्ली—आर्थिक वर्ष २०२४—२५ मा भारतको प्रवेश—स्तर रोजगारी बजारमा ठूलो वृद्धि हुने प्रक्षेपण गरिएको छ।

विशेष गरी प्रविधि—सम्बन्धित क्षेत्रमा ग्लोबल क्यापेबिलिटी सेन्टर्स (जीसीसी) अग्रणी भई उच्चस्तरीय रोजगारी अवसर र आकर्षक तलबको प्रस्ताव गरिरहेका छन्। जीसीसीले साइबर सुरक्षा, डाटा एनालिटिक्स, र क्लाउड समाधानजस्ता भूमिकामा प्रति वर्ष ९ लाख ५७ हजार भारतीय रुपैयाँ सम्म तलब प्रस्ताव गरिरहेका छन्, जुन प्रवेश—स्तर (इन्ट्री लेभल)का कामदारहरूको लागि धेरै नै हो।

डिजिटल प्रविधिको व्यापक माग र प्रयोगले रोजगारीको नयाँ सम्भावना सिर्जना गरेको छ। क्लाउड समाधान, डाटा व्यवस्थापन, र इन्टरप्राइज एप्लिकेसन जस्ता क्षेत्रमा लगानी बढ्दै जाँदा यी क्षेत्रका कामदारहरूको माग तीव्र रूपमा बढेको छ। जीसीसी ले मुख्यतः वित्तीय सेवाहरू, खुद्रा व्यापार, र स्वास्थ्य क्षेत्रमा डिजिटल रूपान्तरणलाई अगाडि बढाइरहेका छन्।

हाइब्रिड क्षमता भएका व्यक्तिहरूले यस मागबाट विशेष फाइदा उठाउनेछन्। हाइब्रिड क्षमता भन्नाले प्राविधिक विशेषज्ञता र प्रबन्धकीय क्षमता दुबै हुनुलाई जनाउँछ। आजका कम्पनीहरु बहुआयामिक कामदारहरूको खोजीमा छन्, जसले प्रविधिगत ज्ञानसँगै समस्या समाधान र नेतृत्व क्षमताको प्रदर्शन गर्न सक्छन्।

प्रवेश—स्तरका कामदारहरूको लागि तलबको विविधता जीसीसी, आइटी सेवा, र गैर—प्रविधि क्षेत्रहरूमा देखिएको छ। जीसीसीले तुलनात्मक रूपमा उच्च तलब प्रदान गरे पनि, आईटी सेवा र गैर—प्रविधि क्षेत्रका कामदारहरूले पनि डिजिटल कौशल हासिल गरी राम्रो अवसरहरू प्राप्त गर्न सक्छन्।

प्रकाशित मिति : २३ मंसिर २०८१, आइतबार  १० : १० बजे