रविलाई चितवनबाट रातारात गाडीमा पोखरा पुर्याइयो



पोखरा- सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामीछानेलाई पोखरा ल्याइएको छ ।

चितवनमा बयान सक्काएर रातारात लामिछानेलाई पोखरास्थित जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा ल्याइएको हो ।

बिहान ३ बजे पोखरा ल्याइएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी बसन्तकुमार शर्माले बताए ।

मंगलबार काठमाडौंबाट चितवन लगिएका रविलाई दुई दिनसम्म निरन्तर सरकारी वकिलको कार्यालयमा बयान लिइएको थियो । बुधबार विहान ८ बजेदेखि राती ८ बजेसम्म बयान लिएर सकाएपछि राति नै उनलाई पोखरा ल्याइएको छ ।

सहारा चितवन सहकारी संस्थाको रकमअपचलन गरेर गोरखा मिडिया नेटवर्कमा अवैध तरिकाले लगानी गरेपछि उनलाई जिल्ला अदालत चितवनले पक्राउ पुर्जी जारी गरेको थियो ।

काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको बचत रकम अपचलनमा अनुसन्धान गर्न रविलाई पोखराबाट मंसिर १३ गते पोखराबाट काठमाडौं लगिएको हो । काठमाडौंबाट मंगलबार चितवन लगिएको छ ।

रविविरुद्ध जिल्ला अदालत पर्साले पनि पक्राउ पुर्जी जारी गरेको छ । वीरगञ्जस्थित सानो पाइला सहकारीको रकम गोरखा मिडिया नेटवर्कमा ल्याएको पाइएपछि अनुसन्धानका लागि बुधबार रविसहित १४ जना विरुद्ध पक्राउ पुर्जी जारी गरिएको हो ।

मंसिर ९ गते रविलाई थप १५ दिन हिरासतमा राख्न जिल्ला अदालत कास्कीले अनुमति दिएको छ । अब आइतबार म्याद थपेर रविलाई पर्सा लैजाने प्रहरीको तयारी छ ।

पूर्वगृहमन्त्रीसमेत रहेका लामीछानेलाई पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी प्रकरणमा कार्तिक २ गते काठमाडौँको वनस्थलीस्थित राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालयबाट पक्राउ गरिएको थियो ।

कात्तिक ३ गते बिहानपख पोखरा ल्याइएकोमा कात्तिक ४ गते जिल्ला अदालत कास्की पेश गरिएको थियो ।

प्रकाशित मिति : २० मंसिर २०८१, बिहिबार  ९ : ३७ बजे