स्याङ्जा : वालिङ नगरपालिका- १ धरमपानीमा व्यावसायिक रूपमा ड्रागन फ्रुट खेती गरिहेका कृष्णप्रसाद ढुङ्गानाले ड्रागन फ्रुट बेचेर १८ लाख रुपैयाँ आम्दानी गरेका छन्।
चार हजार ५०० केजी ड्रागन फ्रुट बिक्री गरेर यो परिमाणको आम्दानी लिएको उनले बताए। ८० रोपनी जग्गा भाडामा लिएकोमध्ये ४० रोपनीमा तीन वर्षअघि व्यावसायिक ड्रागनखेती गरेका ढुङ्गानाले यो वर्ष एकै याममा मनग्य आम्दानी गर्न सफल भएका हुन्।
‘८० रोपनी जग्गा भाडामा लिएर व्यवसाय थालेको हुँ’, उनले भने, ‘शुरुमा मलाई केही पनि ज्ञान थिएन, युट्यूब हेर्दै काम गर्न थालेँ, सिक्दै गएँ अहिले धेरै राम्रो भएको छ, कमाइ पनि राम्रो भएको छ।’ ड्रागन थोकमा प्रतिकेजी ४०० का दरले र खुद्रामा प्रतिकेजी ५०० का दरले बिक्री भएको उनले सुनाए। यहाँ उत्पादन भएको ड्रागन पोखरा, स्याङ्जा र वालिङमा खपत भएको हो ।
आफ्नो र बाँकी जग्गा दाजुभाइको भाडामा लिएर अहिले ४० रोपनीमा पाँच हजार ड्रागनले फल दिएको उनले जानकारी दिए। ‘नयाँ र नौलो व्यवसायको थालनी गर्दा हेर्न आउनेहरूले के नचाहिँदो काम गरेको होला भनेर होच्याउने गर्थे, पागल भएछ कि क्या हो समेत भन्थे’, उनले सम्झिए, ‘अहिले व्यवसाय राम्रो भएर आम्दानी लिन थालेपछि पहिला नराम्रो भन्नेहरू पनि हेर्न र बुझ्न बगैँचामा आउने गरेका छन्।’
उनले एउटा पिलरमा तीनवटाका दरले ड्रागनका बेर्ना लगाएका छन्। ड्रागन बगैँचामा बिरुवाको बीच–बीच भागमा अदुवा, सखरखण्ड, पिँडालुलगायत मिश्रित बाली लगाएका छन्। ‘नयाँ र नौलो फल भएकाले यहाँ आउनेलाई खान दिने, आफन्तलाई कोसेली पठाउनेसमेत गरियो’, उनले भने, ‘आम्दानी अझै धेरै हुन्थ्यो, वर्षामासमा परेको निरन्तरको झरीले झण्डै रु १० लाखको ड्रागनको फूल नै नष्ट गरिदियो ।’ उनले ड्रागन फलसँगै बेर्ना पनि बिक्री गरी आम्दानी गर्दै आएका छन्।
उत्पादन गर्न सके बजारको समस्या नरहेको कृष्णका भाइ अमृत बताउँछन्। अमृतले दाजुले उत्पादन गरेको ड्रागनको सम्पूर्ण बजारीकरणको जिम्मा लिएका छन्। ‘यहाँ उत्पादन भएको ड्रागन पोखरा, स्याङ्जा तथा स्थानीय वालिङ बजारमा र केही बगैँचाबाट नै बिक्री भयो’, उनले भने, ‘ड्रागनको बजार माग राम्रो भएकाले बिक्री नहुने समस्या भएन बरु मागअनुसार खपत गर्न सकेनौँ।’
बगैँचामा यसपटक ड्रागन फलेर सकियो तर अझै पनि विभिन्न ठाउँबाट माग आउने क्रम जारी भएको अमृतले बताउनुभयो । अहिले ४० रोपनीमा फैलिएको ड्रागन बगैँचालाई विस्तार गरी ८० रोपनी क्षेत्रफलमा पुर्याउने लक्ष्य रहेको अमृतले बताए।
झोलामा फाइल बोकेर हिँड्ने नक्कली किसानलाई राज्यले अनुदान दिने गरेकामा उनको दुखेसो छ। ‘वास्तविक किसानले मेहनत गर्छन् तर उनीहरू राज्यले दिने अनुदानमा पर्दैनन्’, उनले भने, जसले काम गर्दैन तर पहुँच पुर्याउँछ उसैलाई राज्यले नहेर्दा दुःख लाग्दो रहेछ।’
केन्द्र, प्रदेश तथा स्थानीय सरकारले अनुदान शुरुमै नभई उत्पादनका आधारमा दिनुपर्ने माग उनको छ।
प्रतिक्रिया