डोनाल्ड ट्रम्प ह्वाइट हाउसमा फर्किएपछि चिनियाँ युआनमाथि थप संकट



बेइजिङ— अमेरिकी राष्ट्रपति निर्वाचनमा डोनाल्ड ट्रम्पको विजयपछि चिनियाँ युआन केन्द्रीय बैंकको आधिकारिक निर्धारण दरभन्दा तल व्यापार भइरहेको छ, जसले अमेरिकी प्रशासनले कडा अडान लिन र सम्भवतः नयाँ व्यापार युद्ध सुरु गर्ने तयारी गरेकोले मुद्रा कमजोर हुने बजारको अपेक्षालाई सङ्केत गरेको एशिया टाइम्सले उल्लेख गरेको छ।

यद्यपी, पिपुल्स बैंक अफ चाइनाका गभर्नर गोंगसेङ र राष्ट्रपति सी जिनपिङसँग मुद्राको तीव्र अवमूल्यन रोक्नको लागि बलियो कारणहरू रहेको बताइएको छ ।

युआनमा उल्लेखनीय गिरावटले विश्वव्यापी लगानीकर्ताहरूलाई नकारात्मक संकेत दिएको छ ।

यद्यपि, डोनाल्ड ट्रम्पको प्रत्याशित व्यापार नीतिहरूले चीनलाई मुद्रा व्यवस्थापनको दृष्टिकोणमा पुनर्विचार गर्न प्रेरित गर्न सक्छ तर यो वास्तविक अनिश्चितता जस्तै देखिएको छ ।

यसअघि, अमेरिकी समाचार संस्था सीएनएन अनुसार ट्रम्प पुनःनिर्वाचित भएपछि उनले आक्रामक व्यापार नीतिहरू ल्याउने अपेक्षा गरिएको छ, जसमा चिनियाँ सामानहरूमा ६० प्रतिशतसम्म कर लगाउने सम्भावना रहेको छ ।

तर ट्रम्पको संरक्षणवादी व्यापार अडान र विदेश नीतिको लेनदेन दृष्टिकोणले चीनलाई महत्त्वपूर्ण दबाब दिन सक्छ, यसले बेइजिङका लागि अवसरहरू पनि निम्त्याउन सक्छ।

ट्रम्पको अडानले अमेरिकी गठबन्धन र विश्वव्यापी नेतृत्वलाई धम्की दिएको बेला बेइजिङले ‘अमेरिका फर्स्ट’ दृष्टिकोणले छोडेको खाली ठाउँलाई भर्ने र अमेरिकामा कम निर्भर रहेर नयाँ विश्वव्यापी व्यवस्थालाई जोड दिने सम्भावना देखेको सीएनएनले उल्लेख गरेको छ।

‘ट्रम्पको सत्तामा पुनरागमनले निश्चित रूपमा चीनका लागि ठूलो अवसर र ठूलो जोखिम ल्याउनेछ’, सांघाईमा रहेका विदेश नीति विश्लेषक शेन डिङ्लीले भने।

एक विज्ञप्तिमा, चिनियाँ विदेश मन्त्रालयले अमेरिकी निर्वाचनको परिणामलाई ‘सम्मान’ गरेको बताएको छ भने चिनियाँ राष्ट्रपति सी जिनपिङले ट्रम्पलाई बधाई दिएका छन्। आफ्नो पहिलो कार्यकालमा अमेरिका—चीन सम्बन्धमा उल्लेखनीय गिरावट आए पनि ट्रम्पले बारम्बार सीको प्रशंसा गर्दै उनलाई ‘एक धेरै असल साथी भनेका छन्।

प्रकाशित मिति : ३ मंसिर २०८१, सोमबार  ८ : २० बजे