पाल्पामा एउटै गाउँबाट बिक्यो छ करोडको अकबरे



तानसेन । रिब्दीकोटका किसानले छ करोड बढीको अकबरे खुर्सानी बिक्री गरेका छन्। पालिकाभित्रका विभिन्न वडाका किसानले यस वर्ष छ करोडभन्दा बढी मूल्यका अकबरे खुर्सानी बिक्री गरेका हुन्।

अकबरे खुर्सानीबाट यहाँका प्रतिकिसान एक लाख रुपियाँदेखि १० लाख रुपियाँसम्म आम्दानी गर्न सफल भएका छन्। चार वर्षअघि रिब्दीकोटको पालुङ्मैनादी, भैरवस्थान, खस्यौली, देउरालीलगायतका स्थानमा व्यावसायिक अकबरे खुर्सानी खेती सुरु गरिएको थियो।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (जोन) को सहयोगमा सुरु भएको अकबरे खुर्सानी खेतीबाट राम्रो आम्दानी भएपछि हरेक वर्ष खुर्सानी खेतीबाट किसानले गर्ने आम्दानी बढेको पालिकाका अध्यक्ष नारायणबहादुर कार्कीले बताउनुभयो। “गत वर्ष चार करोडको अकबरे खुर्सानी बिक्री गरिएको थियो,” उहाँले भन्नुभयो, “यस वर्ष छ करोडभन्दा बढीको बिक्री भइसकेको छ।” यहाँका किसानले यस वर्ष प्रतिकिलो दुई सयदेखि पाँच सय रुपियाँसम्ममा खुर्सानी बेचेका छन्। किसानले उत्पादन गरेको अकबरे बेच्न पालिकाले विभिन्न स्थानका चाउचाउ कम्पनी तथा अन्य खुर्सानी खरिद गर्ने कम्पनीसँग समन्वय गर्दै आएको छ। पालिकाको समन्वयमा किसानले उचित मूल्यमा अकबरे खुर्सानी बिव्रmी गर्दै आएको अध्यक्ष कार्कीले बताउनुभयो।

गाउँपालिकाले खुर्सानी खेतीका लागि निःशुल्क बिउ वितरण, प्लास्टिक टनेल, सिँचाइका लागि पाइप वितरण र प्राविधिक सहयोग गर्दै आएको छ। अकबरे खुर्सानी खेतीले राम्रो प्रतिफल दिन थालेपछि यहाँका किसान थप उत्साहित बनेका छन्। खुर्सानी खेतीबाट राम्रो आम्दानी भएपछि हरेक वर्ष खेती विस्तार गर्ने किसानको सङ्ख्या र क्षेत्रफलसमेत बढेको गाउँपालिकाकी कृषि प्राविधिक प्रज्ञा लाम्टाङेले बताउनुभयो।

अकबरे खुर्सानीले राम्रो आम्दानी दिएपछि किसानको प्रमुख आम्दानीको स्रोत बन्दै गएको छ। अहिलेसम्म अकबरे खुर्सानीबाट राम्रो आम्दानी लिइरहेको र आफूहरूको आम्दानीको मुख्य स्रोत खुर्सानी खेती बनेको रिब्दीकोट–३ का किसान लक्ष्मण अर्यालले बताउनुभयो। उहाँले आफूले एक हजार पाँच सय बिरुवाबाट २० क्विन्टल अकबरे उत्पादन गरी बेचेको जानकारी दिनुभयो।

किसानलाई आत्मनिर्भर र व्यावसायिक बनाउने उद्देश्यका साथ चार वर्षअघि सुरु गरिएको अकबरे खुर्सानी खेतीमा अहिले एक हजार किसान सक्रिय रहेका छन्। अहिले अन्य खेती छाडेर अकबरे खुर्सानी खेती गर्ने किसानको सङ्ख्या बढ्दै गएको पालिकाका निवर्तमान अध्यक्ष नारायणबहादुर जिसीले बताउनुभयो। वार्षिक एक लाखदेखि १० लाखसम्म आम्दानी गर्ने किसान पनि बढ्दै गएको उहाँले जानकारी दिनुभयो।

प्रकाशित मिति : २५ कार्तिक २०८१, आइतबार  २ : ५६ बजे