काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले वर्तमान सरकार ढल्ने कुनै सम्भावना नरहेकोे बताएका छन् । उनले सरकार ढल्छ कि भनेर सपना नदेख्न विपक्षी दलहरूलाई सुझाव दिए ।
मोरङको बेलबारीमा नेपाल भूतपूर्व सैनिक सङ्घ मोरङको प्रथम जिल्ला अधिवेशन समारोहलाई सम्बोधन गर्दै नेता कोइरालाले राजनीतिक स्थिरता, आर्थिक विकास र सुशासन कायम गर्ने लक्ष्यका साथ निर्माण भएको सरकार ढल्ने सम्भावना नरहेको स्पष्ट पारे ।
आगामी निर्वाचनसम्म कांग्रेस र एमालेको गठबन्धनकै सरकार रहिरहने बताउँदै नेता कोइरालाले भने, ‘यो सरकार ढल्दैन, चल्छ, यद्यपी मन्त्रीहरूले इमान्दारीपूर्वक काम गर्नुपर्दछ । जनतालाई सरकार भएको अनुभूति दिनुपर्दछ ।’
कोइरालाले राजनैतिक स्थिरता, आर्थिक विकास र सुशासनका लागि देशका सबैभन्दा ठूला दल कांग्रेस र एमालेको सरकार बनेको उल्लेख गरे ।
‘यो सरकार बनेको धेरै भएको छैन, त्यसैले काम गर्न दिनुपर्छ,’ उनले भने ।
सुशासन कायम गर्न सरकार निर्मम रूपमा प्रस्तुत हुनुपर्नेमा जोड दिँदै उनले कांग्रेस र एमालेको बलले मात्रै संविधान संशोधन नहुने भएकाले सबैले मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिए । नेता कोइरालाले अन्य दललाई पनि विश्वासमा लिएर संविधान संशोधन गर्नुपर्ने बताए ।
‘संविधान संशोधन छुट्टै आयोग बनाएर हुन्छ कि संसदीय समिति बनाएर हुन्छ, सबै दलको सहमतिमा गर्नुपर्दछ,’ उनले भने ।
नेपाल भूतपूर्व सैनिक सङ्घ मोरङको प्रथम जिल्ला अधिवेशनबाट प्रेम गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।
प्रतिक्रिया