रामेछाप । रामेछाप र सिन्धुली जिल्ला जोड्ने खुर्कोट पुलको निर्माण गरिरहेको नेपाली सेनाले बेलिब्रिज जडानको काम सकेको छ । शनिवार सेनाले पुलमा बेलिब्रिज जडानको काम सकेको हो । अहिले सेनाले सिन्धुली पटीको पुल र हालै जडान गरिएको बेलिब्रिजको बिचमा फलामको सल्याप हाल्ने काम गरिरहेको छ । त्यसै गरी पुलको रामेछाप तर्फको जिपलाईन माथि सडकसँगको लेभल मिल्ने गरी ढलान गर्ने काम बाकी छ ।
यो ढलानको काम सडक विभागले चाडै गरेको खण्डमा पुलको भार क्षमता परीक्षण लगायतका काम गरी अबको एक हप्ताभित्रै खुर्कोट पुल सञ्चालनमा ल्याउने गरी काम भइरहेको नेपाली सेनाले जनाएको छ । यही असोज १२ गते परेको अविरल वर्षाका कारण सुनकोसी नदीमा आएको बढीले खुर्कोटको झोलुङ्गे पुल पुरै र पक्की पुल आधा (रामेछाप तर्फको) भाग बगाएको थियो । जसका कारण रामेछाप जिल्लालाई छोटो दुरीमा राजधानी काठमाडौँसँग जोड्ने बिपी राजमार्गसँगको सञ्जाल टुटेको थियो । पुल बगाएपछि रामेछाप र दोलखाको सिन्धुली र तराईका विभिन्न जिल्लासम्मको छोटो दूरीको सडक मार्गको सञ्जाल पनि टुटेको थियो ।
प्रतिक्रिया