मनसेरा— पाकिस्तानको मनसेरामा स्थानीय सरकारका प्रतिनिधि र बालाकोट पञ्चायतद्वारा गठित समितिका सदस्यले भर्खरै सम्पन्न सुकी किनारी जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत निःशुल्क उपलब्ध गराउन माग गरेका छन् । यो आयोजना अक्टोबरको दोस्रो सातासम्ममा पूर्णरुपमा सञ्चालनमा आउने अपेक्षा गरिएको पाकिस्तानी अग्रेजी दैनिक डनले जनाएको छ ।
समितिको बैठकमा गढी हबिबुल्लाह गाउँपालिकाका अध्यक्ष फहाद याल्माजले बालाकोटका जनतालाई निःशुल्क विद्युत् उपलब्ध गराउन सरकारलाई दबाब दिन आन्दोलन थालेको बताएका छन् ।
पाकिस्तान मुस्लिम लिग—नवाजका एमएनए सरदार मोहम्मद युसुफले पनि यस विषयमा प्रधानमन्त्रीसँग छलफल गरेका थिए ।
बालाकोट व्यापारी संघका अध्यक्ष जावेद इकबालले आयोजनाका लागि समुदायले आफ्नो जग्गा दिए पनि आयोजना प्रभावितका लागि शिक्षा र स्वास्थ्य सुविधा उपलब्ध गराउने वाचा पूरा नगरेको बताए ।
उनले सांसद सरदार युसुफले निःशुल्क बिजुली दिने विषय प्रधानमन्त्री समक्ष उठाएको उल्लेख गरे । यसअघि शनिबार बालाकोटका बासिन्दाले निःशुल्क विद्युत् उपलब्ध गराउन माग गर्दै तीन घण्टाभन्दा बढी समयसम्म मनसेरा–नारान–जलखड सडक अवरुद्ध गरेका थिए ।
जलविद्युत, प्राकृतिक ग्यास र कोइला लगायतका विभिन्न ऊर्जा स्रोतहरू भए तापनि पाकिस्तानले निरन्तर ऊर्जा अभावको सामना गरिरहेको छ। विद्युत आपूर्ति प्रायः मागको तुलनामा कम भएकाले पाकिस्तानी जनताले लोडसेडिङ मार खेप्नुपरेको छ ।
प्रतिक्रिया