शासनको लागि अख्तियार अनुसन्धान आयोगको भूमिका पारदर्शी हुनु पर्दैन ?



मोरङको लेटाङका योगराज दाहालले लेटाङ नगरपालिकाको अस्पतालमा सञ्चालित फार्मेसी सञ्चालनका लागि ठेक्का दिँदा सार्वजनिक सूचना जारी नगरी,सूचना गुपचुप राखी खरिद ऐन अनुसारको कानुनी प्रक्रिया समेत पूरा नगरी अस्पतालको फार्मेसी सञ्चालनमा भाडामा दिएको विषय समावेश गरेर भ्रष्टाचार भएको तथा सार्वजानिक पद धारण गरेका व्यक्ति सम्बन्धित व्यक्तिहरूबाट अनुचित लाभको लोभमा अनुचित कार्य गरेको भन्दै लेटाङ नगर अस्पतालका अध्यक्ष सहित ४ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीमा लिखित उजुरी दिनुभएको थियो ।

उक्त विषयलाई गम्भीरतापूर्वक अनुसन्धान समेत नगरेको र निवेदकले अनुसन्धानको सम्बन्धमा नियमित ताकेता गर्दा सम्पर्क गर्दा उजुरिकर्तालाई सूचना जानकारी दिइएन। तर, उजुरिकर्तालाई जानकारी नदिइए पनि अनुचित कार्य गर्नेलाई भने सम्बन्धित अख्तियार कार्यालयबाट ‘क्लिन चिट’ दिइएको ब्यहोरा पहिल्यै जानकारी दिइसकेको रहेछ। सम्मानित आयोगले सो फायललाई तामेलीमा राखेर उजुरिकर्ताको मनोबल गिराउने, र सुशाशन नारामा मात्र सिमित भएको आभाष गराउनुको साथै काहीं कतै शङ्काको दृष्टिकोणले हेर्नुपर्ने बाध्यता बनाइएको उजुरिकर्ताको भनाई छ ।

यसैगरी लेटाङ नगर अस्पतालले नियम, प्रक्रिया बिपरित फार्मेसी भाडामा लगाएको र सो- प्रक्रिया खारेज गरी पुनः नयाँ प्रक्रियामा गएर सार्वजानिक सुचना जारी गरि निष्पक्ष रुपमा खुल्ला प्रतिष्पर्धा अर्थात टेण्डर मार्फत फार्मेसी भाडामा लगाउनु पर्ने माग गर्दै असोज १३ गते आईतवार देखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीमा आमरण अनसन वस्ने कार्यक्रम रहेको उजुरीकर्ता योगराज दाहालको भनाई छ । उनले उक्त विषयलाई कार्यन्वयन नभए सम्म आमरण अनसन अनिश्चितरुपमा चलिरहने समेत बताएका छन् ।

प्रकाशित मिति : ११ आश्विन २०८१, शुक्रबार  १ : ०५ बजे