आर्थिक मन्दीका कारण चीनका युवाहरूमा मोटोपनाको दरमा वृद्धि !



बेइजिङ—यो अचम्म लाग्न सक्छ, तर आर्थिक मन्दीका कारण चीनका युवाहरूमा बढ्दो मोटोपना देखिएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार चीनको ३७ प्रतिशत भन्दा बढी जनसंख्यामा मोटोपना वा अधिक तौल रहेको पाइएको छ ।

यद्यपि, चीनको आधिकारिक समाचार एजेन्सी सिन्ह्वाले देशका आधाभन्दा बढी युवाहरुमा मोटोपना रहेको उल्लेख गरेको छ । यो संख्या डब्ल्यूएचओको अनुमानभन्दा बढी हो।

चीनको आर्थिक क्षेत्रसँग जोडिएका धेरै कारकहरुले चीनमा मोटोपनाको दरमा वृद्धि भईरहेको छ । जागिरको तनाव, धेरै घण्टा काममा व्यस्त, स्वचालित मेसिन र सस्तो, अस्वस्थ खानाले चिनियाँ नागरिकमा मोटोपना देखिएको छ । आर्थिक मन्दीका कारण चीनको स्वास्थ्य सेवा पूर्वाधारमा पनि दबाब परेको छ ।

बेइजिङस्थित ड्याक्स्यु कन्सल्टिङलाई उद्धृत गर्दै रोयटर्सले आर्थिक मन्दीका कारण चिनियाँ नागरिकले बढी किफायती, कम पौष्टिकयुक्त खाना प्रयोग गरिरहेका छन्। थप रूपमा, अभिभावकहरूले आफ्ना बच्चाहरूको लागि पौडी खेल्ने जस्ता अतिरिक्त क्रियाकलापहरूमा कटौती गरिरहेका छन्। उद्योग–कलकारखानामा स्वचालित मेसिन भएका कारण कामदारहरु कुर्सीमा बसेर काम गर्नाले चीनका युवाहरूमा बढ्दो मोटोपना देखिएको छ ।

जुलाईमा, चीनको राष्ट्रिय स्वास्थ्य आयोगका एक वरिष्ठ अधिकारीले मोटोपनालाई जनस्वास्थ्यको प्रमुख समस्याको रूपमा चित्रण गरे। ल्यान्सेटको अध्ययनअनुसार सन् २०३० सम्ममा चीनको अधिक तौल र मोटोपनको उपचारमा हुने खर्च राष्ट्रिय स्वास्थ्य बजेटको २२ प्रतिशत हुने अनुमान गरिएको छ। बीएमसी पब्लिक हेल्थको एक अध्ययनले वजन सम्बन्धी उपचार लागत २०३० सम्ममा ४१८बिलियन युआन पुग्ने अनुमान गरेको छ।

चीनमा मोटोपनले क्षेत्रीय असमानता देखाउँछ। चीनको उत्तरी भागका युवामा दक्षिणी भागको तुलनामा उच्च मोटोपना रहेको छ । दक्षिणको तुलनामा उत्तरमा पीठोयुक्त खाना प्रयोग हुने गरेको छ ।

आर्थिक मन्दीले सामान्यतया जीवनशैलीमा परिवर्तनहरू ल्याउँछ— अनियमित खाने बानी र सामाजिक गतिविधिमा कमी— जसले मोटोपना बढाउन सक्छ। यो समस्याबाट सहरी क्षेत्रमा मात्र सीमित नभई ग्रामीण क्षेत्र पनि प्रभावित छन्। कृषिमा प्रयोग हुने यान्त्रिकीकरणले खेतीपातीमा शारीरिक परिश्रम कम गरेको छ ।

सहरी क्षेत्रमा, स्कूल जाने उमेरका बालबालिकाहरूमा मोटोपना दर नाटकीय रूपमा बढेको छ। उदाहरणका लागि, चीनमा मोटोपना भएका बालकको अनुपात १९९० मा १ दशमलव ३ प्रतिशत थियो भने यो दर २०२२ सम्म आइपुग्दा १५ दशमलव २ प्रतिशत पुगेको छ । यस्तै बालिका हकमा यो समान अवधिमा ० दशमलव ६ प्रतिशतबाट ७ दशमलव ७ प्रतिशतमा पुगेको छ । पोषणविद्हरूले बालबालिकामा मोटोपना बढ्नुको प्रमुख कारण उच्च क्यालोरी भएको फास्ट फूड प्रयोगलाई लिने गरेका छन् । त्यसो त चीनको फास्ट फूडको बजार २०१७ मा ८९२ बिलियन युआन थियो भने २०२५ सम्ममा १ दशमलव ८ ट्रिलियन युआन पुग्ने प्रक्षेपण गरिएको छ।

चीन सरकार मोटोपनाबारे सचेत भए पनि, आर्थिक मन्दीको कारण फास्ट फूड उत्पादक कम्पनीहरू विरुद्ध कडा कारबाही गर्न सकेको छैन् । मोटोपनाका कारण मुटुरोगको समस्या पनि देखिन थालेको छ । साउथ चाइना मर्निङ पोस्ट अनुसार लगभग ३३० मिलियन चिनियाँहरू हृदयाघात, कोरोनरी मुटु रोग, र उच्च रक्तचाप सहित मुटु रोगबाट पीडित छन्।

जीवन शैली र आहार—विहारमा उल्लेखनीय परिवर्तन नगरेसम्म, चीनका नागरिकमा मोटोपनाको दर बढिरहने सम्भावना रहेको छ।

प्रकाशित मिति : ११ आश्विन २०८१, शुक्रबार  १२ : ४२ बजे