नवीकरणीय ऊर्जाः भारतमा १ करोड भन्दा बढी परिवारहरूद्वारा घरमा सोलार राख्न आबेदन



गान्धीनगर— भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोलार रूफटप योजना सुरु भएदेखि अहिलेसम्म १ करोड ३० लाख भन्दा बढी परिवारहरूले घरमा सोलार राख्न आवेदन दिएको बताएका छन् ।

प्रधानमन्त्री मोदीले गुजरातको गान्धीनगर जिल्लामा चौथो ग्लोबल नवीकरणीय ऊर्जा लगानीकर्ता सम्मेलन (री—इनभेस्ट २०२४) को उद्घाटन गर्दै उक्त कुरा बताएका हुन् ।

सोलार रुफटप योजना सुरु भएदेखि हालसम्म ३ लाख ७५ हजार घरमा जडान कार्य सम्पन्न भइसकेको उनले बताए ।

यो योजनाले उनीहरुको उपभोगका लागि बिजुली उत्पादन मात्र गर्दैन, अतिरिक्त बिजुली ग्रिडमा बेचेर वार्षिक २५ हजार रुपैयाँ सम्म आम्दानी गर्ने गरेका छन् ।

‘सामान्यतया एक सानो परिवारले मासिक २५० युनिट बिजुली खपत गर्ने गर्दछ र बाँकी रहेको विजुली ग्रिडमा बेच्दा वार्षिक लगभग २५,००० रुपैयाँ बचत हुनेछ,’ भारतीय प्रधानमन्त्री मोदीले भने।

यस योजनाबाट करिब २० लाख रोजगारीका अवसरहरू सिर्जना हुने प्रक्षेपण गरिएको छ।

उनले यो योजनाबाट भारतका हरेक घरमा विद्युत उत्पादक बन्ने लक्ष्य लिएको पनि बताए ।

प्रकाशित मिति : ८ आश्विन २०८१, मंगलबार  ८ : ५५ बजे