पाकिस्तानमा शिक्षाको गम्भीर संकटः २ करोड ६० लाख बालबालिका विद्यालय बाहिर



इस्लामावादः पाकिस्तानको संघीय शिक्षा र व्यावसायिक प्रशिक्षण मन्त्रालयले राष्ट्रिय सभामा देशभर २ करोड ६० लाख भन्दा बढी बालबालिका अझै पनि विद्यालय बाहिर रहेको जानकारी दिएको डन पत्रिमाले उल्लेख गरेको छ ।

हालैका वर्षहरूमा सरकारले चालेका कदम र यी बालबालिकालाई विद्यालयमा फिर्ता ल्याउने प्रतिबद्धताका बावजुद यो संख्या २ करोड ६० लाखभन्दा माथि रहेको बताइएको छ ।

पाकिस्तानको राष्ट्रिय सभा सदस्य शाहिदा रहमानीको प्रश्नको जवाफमा शिक्षा मन्त्री खालिद मकबुल सिद्दिकीले यस्तो जानकारी दिएका हुन् । छ।

विद्यालयबाहिर रहेका २ करोड ६० लाख २० हजार बालबालिकामा ५ देखि ९ वर्ष उमेर समूहका १ करोड बालबालिका (१०,७७४,८९०), १० देखि १२ वर्ष उमेर समूहका करिब ५० लाख (४,९३५,४८४) र १३ देखि १४ वर्षका ४५ लाख उमेर समूहका बालबालिका विद्यालय बाहिर रहेका छन् । यसका अतिरिक्त १३ देखि १६ वर्ष उमेर समूहका ६० लाख विद्यार्थी विद्यालय बाहिर छन् र उच्च माध्यमिक शिक्षाबाट वञ्चित छन् ।

इस्लामावादका शैक्षिक संस्थाहरूको जिम्मेवारीमा रहेको संघीय शिक्षा निर्देशनालयले कोडिङ सीप सिकाउन शैक्षिक संस्थाहरूमा २ सय कम्प्युटर ल्याब स्थापना गरेको मन्त्रीले सदनलाई जानकारी दिए। बालिकाहरूलाई आईटी र उद्यमशीलताको सीप सिकाउन यो कदम चालिएको बताएका छन्।

यसअघि, पाकिस्तानको द एक्सप्रेस ट्रिब्युनले ५ देखि १६ वर्ष उमेरका २ करोड ५० लाख बढी बालबालिकाहरू विद्यालय बाहिर फेला परेका थिए, जुन देशको कुल स्कूल जाने उमेरको जनसंख्याको ३६ प्रतिशत हो।

अध्ययनले ५ देखि ९ वर्ष उमेर समूहका बालबालिका जोखिममा रहेको उल्लेख गरेको छ जसमा ५१ प्रतिशतले कहिल्यै भर्ना हुन सकेका छैनन् ।

अध्ययन अनुसार ५० प्रतिशत बालबालिकाले विद्यालय छाडेका छन् वा विद्यालय जान छाडेका छन् । विद्यालय बाहिर रहेका बालबालिकामध्ये ५३ प्रतिशत बालिकाहरू रहेका छन् र महिला साक्षरता पहिले नै कम रहेको ग्रामीण क्षेत्रमा यो समस्या बढी गम्भीर रहेको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०८१, सोमबार  ८ : २८ बजे