इभिले खायो मार्केट : ३४ अर्बको ईभी आयात हुँदा ८ अर्बको मात्रै पेट्रोलियम सवारी साधन नेपाल भित्रिए



काठमाडौं । पछिल्लो समय पेट्रोलियम पदार्थबाट सञ्चालन हुने सवारी साधनको तुलनामा विद्युतीय सवारी साधनमा नेपालीको आकर्षण बढ्दै गएको छ ।

विद्युतीय सवारीप्रति बढ्दो आकर्षणका कारण विद्युतीय सवारी साधनको आयात पनि अत्यधिक बढेको छ ।

भन्सार विभागको तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष २०८०/८१ झण्डै तीन गुणाले विद्युतीय सवारी साधनको आयात भएको छ । तर सार्वजनिकभन्दा व्यक्तिगत सवारीसाधनमा विद्युतीय गाडीको माग बढेको छ ।

त्यसैले आयात भएका यस्ता सवारी साधनमा सबैभन्दा धेरै व्यक्तिगत रुपमा चढ्ने कार, जीप र भ्यानको छ । सार्वजनिक विद्युतीय सवारीसाधनमा छुट दिए पनि व्यक्तिगत रुपमा चढ्ने कार, जीप र भ्यानको आयात संख्या अत्यधिक देखिएको हो ।

तथ्यांकअनुसार गत आर्थिक वर्षमा सबै प्रकारका विद्युतीय सवारी साधन गरी ३४ अर्ब ३७ करोड २७ लाख ८१ हजार रुपैयाँबराबरको २२ हजार ८८ वटा आयात भएको थियो ।

यस्तै गत आर्थिक बर्ष २०८०/८१, नेपालमा ८ अर्ब १४ करोड १ लाख ७४ हजार रुपैयाँबराबरको १० हजार ६३ थान पेट्रोलियम पदार्थबाट सञ्चालन हुने कार, जिप, माइक्रोबस, मिनिबस र बस आयात भएका छन् ।

प्रकाशित मिति : १६ श्रावण २०८१, बुधबार  १० : ४६ बजे