विश्वका पाँच ठूला कोइला खानीहरूमध्ये दुईओटा भारतमा अवस्थित



नयाँ दिल्ली— भारतको छत्तीसगढस्थित कोल इन्डियाको सहायक कम्पनी साउथ इस्टर्न कोलफिल्ड्स लिमिटेड (एसईसीएल) मातहतमा रहेको गेभ्रा र कुसमुन्डा कोइला खानी वल्र्डएटलासद्वारा जारी विश्वको १० ठूला कोइला खानीको सूचीमा दोस्रो र चौथो स्थानमा परेका छन् ।

छत्तीसगढ राज्यको कोरबा जिल्लामा अवस्थित यी दुई खानीहरूले वार्षिक १० करोड टन कोइला उत्पादन गर्छन् जुन भारतको कुल कोइला उत्पादनको १० प्रतिशत हो।

गेभ्रा ओपनकास्ट खानीको वार्षिक उत्पादन क्षमता ७ करोड टन रहेको छ भने आर्थिक वर्ष २०२३—२४ मा ५ करोड ९० लाख टन कोइला उत्पादन भएको छ ।

सन् १९८१ मा सञ्चालनमा आएको खानीमा आगामी १० वर्षसम्म देशको ऊर्जा आवश्यकता पूरा गर्न पर्याप्त कोइला भण्डार रहेको छ।

कुसमुण्डा ओपनकास्ट खानीले आर्थिक वर्ष २०२३—२४ मा ५ करोड टनभन्दा बढी कोइला उत्पादन गरेको थियो ।

यी खानीहरूमा विश्वको ठूला र सबैभन्दा उन्नत उत्खनन मेसिनहरू जडान गरिएको छ । सर्फेस माइनर जस्ता मेसिनले ब्लास्ट नगरी कोइला निकाल्ने गर्दछ ।

एसईसीएलका सीएमडी प्रेम सागर मिश्रले छत्तीसगढ राज्यको लागि यो वास्तवमै गर्वको क्षण हो कि विश्वका पाँच ठूला कोइला खानहरू मध्ये दुई राज्यमा रहेको बताए ।

मिश्रले कोइला मन्त्रालय, वातावरण मन्त्रालय, राज्य सरकार, कोल इन्डिया, रेलवे, विभिन्न सरोकारवालाहरू, र सबैभन्दा महत्त्वपूर्ण रूपमा कोइला श्रमिकहरूप्रति कृतज्ञता व्यक्त गरे जसले यो ऐतिहासिक उपलब्धि हासिल गर्न अथक परिश्रम गरेका छन्।

आर्थिक वर्ष २००४—०५ मा ३८२ दशमलव ६२ मिलियन टन कोइला उत्पादन भएकोमा आर्थिक वर्ष २०२२—२३ मा ८९३ दशमलव १९ मिलियन टन उल्पादन भएको छ ।

प्रकाशित मिति : १३ श्रावण २०८१, आइतबार  २ : ०९ बजे