घरधन्दा सकेपछि अरू युवतीहरूजस्तै सामाजिक सञ्जालमा रमाउँथिन्। एक दिन क्याल्भिन जेम्स नाम गरेको टिकटक आइडीबाट सिधै फोन नम्बरसहितको म्यासेज आयो। त्यसरी टिकटकमा एक्कासी मोबाइल नम्बर पठाउने को होला? भन्दै उनी आश्चर्यमा परिन्। उनको मनमा उब्जिएको स्वाभाविक उत्सुकताले उनलाई जवाफ दिन बाध्य पार्यो। ‘यो कसको नम्बर हो ? मलाई किन पठाउनुभएको,’ तिनले सन्देश पठाइन्। ‘म काठमाडौंबाट बोल्दैछु,’ सन्देश पठाउने व्यक्तिले भन्यो, ‘यहाँ मेरो पार्लरमा काम गर्ने एकजना केटी चाहिएको छ। मासिक आम्दानी १० हजार रूपैयाँ हुन्छ। काम गर्दै जाँदा तलब पनि बढ्दै जान्छ।’
आमाले कमाएको आम्दानीले घरखर्च टार्न गाह्रो भइरहेकाले उनी देशभित्रै काम पाए हुन्थ्यो भन्ने सोचिरहेकी थिइन्। केही दिनको संवादपछि क्याल्भिन जेम्सले उनिसँग फेसबुक र मोबाइल नम्बर माग्छ। ‘मलाई कहींकतै काम मिलाइदिन्छन् कि भनेर सोझो हिसाबले फेसबुक र मोबाइल नम्बर दिएँ,’ उनी भन्छिन्, ‘उहाँले म्यासेन्जरमा भिडियो कल गर्नुहुन्थ्यो। तर, मैले कल रिसिभ गर्थिनथेँ। म्यासेज चाहिँ बिस्तारै कहिलेकाहीं भइरहन्थ्यो।’ कहिल्यै काठमाडौंमा पाइला नटेकेकी उनलाई कलंकीसम्म लिन आउने यावत् आश्वासन टिकटकबाट चिनजान भएका ती पुरुषले दिए। ‘तिमीलाई पार्लरको काम आउँदैन भने मेरो घरमा समेत काम गर्ने मान्छे चाहिएको छ। तिमी मेरी बहिनीजस्तै हौ। डराउनु पर्दैन,’ क्याल्भिनले उनलाई भनेको थियो।
आफूले काम गरे बिदेसिएकी आमालाई घर धान्न सहयोग हुने सोचले काठमाडौंमा गएर काम गर्दै पढ्ने विचार गरिन्। ‘काठमाडौं आउने पैसा उहाँले दुई हजार हालिदिनु भयो,’ उनले भनिन् , ‘उहाँ मलाई कलंकीमा लिन आउनुभयो। त्यहाँबाट साथीको होटलमा पुर्याएर खाजा खुवाएर टोखा गणेशस्थाननजिक भाडामा लिएको फ्लाटमा लिएर जानुभयो। जहाँ उहाँकी आमा र महिना दिनकी सुत्केरी पत्नी थिए।’घरमा पुगेपछि श्रीमतीलाई भन्छन्, ‘सुत्केरी मान्छे, तिमीलाई धेरै गाह्रो भएको छ। आमा पनि बुढी हुनुभयो। तिमीलाई केही साथसहयोग गर्न सक्नुहुन्न। घरमा काम गर्ने मान्छे ल्याएको छु। पछि यिनीलाई हाम्रो अफिसमा पनि काम लगाउन हुन्छ।’ त्यसपछि ती युवती कार्यालयमा काम गर्न पाउँछु भन्ने ठानेर नयाँ ठाउँमा काम गर्न थालिन्।
उनले काम थालेको एक साताभन्दा बढी भएको थियो। सोहीक्रममा भान्सामा काम गर्ने क्रममा क्याल्भिनले शारीरिक सम्बन्धको प्रस्ताव राख्दै संवेदनशील अंगमा छुन्छ। केटाले फकाएको क्षण सम्झिँदै उनी भन्छिन्, ‘तिमीलाई राम्रो काममा लगाइदिन्छु, डराउन पर्दैन, अब ढुक्कसँग बस्नुपर्छ। कमाइ राम्रो नै हुन्छ। केही समस्या पर्यो भने मलाई बताउनू। पैसाको कुनै चिन्ता गर्नु पर्दैन।’
मौका पाउनासाथ जहाँसुकै संवेदनशील अंगमा हात हाल्न थालेपछि उनी पछि हटिन्। एकान्तमा भेट्नेबित्तिकै क्याल्भिनले ती युवतीलाई सताएको र भान्साकोठामा जबरजस्ती शारीरिक सम्पर्क राखेको तितो अनुभव उनले बताएकी थिइन्। उनले भनिन्, ‘जबरजस्ती यौनक्रियापछि काम गर्न मात्रै नभएर उठ्नबस्न केही गर्न सकिनँ। भोलि बिहान औषधी ल्याएर मलाई खान दिनुभयो। मैले खान नमान्दा गाली गरी खुवाउनुभयो।’ यौन शोषणपछि पनि क्याल्भिनकी आमा र सुत्केरी श्रीमतीलाई स्याहारसुसार गरेसँगै कपडा धुने र सरसफाइ गर्ने काम उनले छोडिनन्।
उनलाई फेरी सोहि युवकले सनफ्लावर स्पामा काम दिन्छन् । त्यहाँ कार्यरत रसिला तामाङ दिदीले स्पासम्बन्धी कामहरू सिकाउनुभएको ती युवती बताउँछिन्। स्पामा काम गरेको केही सुरुवातपछि सँगै कार्यरत दिदीहरूले भनेको उनले सम्झिन्, ‘अब यहाँ आउने ग्राहकले भनेबमोजिम यौन सम्पर्क राख्नुपर्छ। यौन सम्पर्क राखेमा राम्रो कमाइ हुन्छ, तिम्रो तलब मासिक ३०/४० हजारभन्दा बढी हुन्छ। यहाँ बस्ने सबै केटीहरूले त्यहीं काम गर्छन्। अब तिमीले पनि स्पामा आउने व्यक्तिहरूसँग मसाजसँगै शारीरिक सम्पर्क राख्नुपर्छ।’त्यसपछि उनी बाध्य हुन्छिन् स्पामा आएका ग्राहकलाई आफ्नो कलिलो जोवन बेच्न। ‘स्पामा मसाजका लागि आउने व्यक्तिहरू प्रायः शारीरिक सम्पर्क राख्नकै लागि आउँथे। त्यहाँ आउने ३-४ जना व्यक्तिहरूसँग दैनिक शारीरिक सम्पर्क राख्नुपर्थ्याे।
त्यति मात्रै नभएर विभिन्न होटल तथा गेस्ट हाउसमा पनि जानुपर्थ्याे। रातको ४ देखि ५ हजार रूपैयाँसम्म स्पामा पैसा आउँथ्यो। तर, मलाई पाँच सय रूपैयाँ दिने गर्थे।’ दिनभरि स्पामा आएका ग्राहकसँग शारीरिक सम्पर्क राखे पनि बास भने ति युवाक्कै फ्ल्याटमै गएर बस्ने गरेको उनले बताइन्। महिनावारीका बेला पनि गालीगलौज गर्दै शारीरिक सम्पर्क राख्न लगाएको उनको आरोप छ।
Source : Nagarik News / Writer सविता खड्का
प्रतिक्रिया