काठमाडौं : अफ्रिकामा औषधि-प्रतिरोधी औलो फैलिइरहँदा तत्काल र कडा कदम नचाले लाखौँ मानिसहरूको जीवन खतरामा पर्ने भन्दै वैज्ञानिकहरूले चेतावनी दिएका छन्।
औलोविरुद्ध प्रयोग गरिने ‘आर्टिमिजिनिन’ नामक औषधिको असरलाई औलोका परजीवीहरूले मत्थर पार्न सक्ने कुरा अहिले पूर्वी अफ्रिकामा स्थापित भइसएको छ।
तीन वर्षको अवधिमा औषधिलाई परजीवीले प्रतिरोध गर्ने मात्रा केही क्षेत्रमा १ प्रतिशतबाट बढेर २० प्रतिशतभन्दा बढी पुगेको छ।
औलोविरोधी औषधिको प्रभाव कम भएको बेला अफ्रिकामा पछिल्लो पटक औलो फैलिँदा त्यसले बालबालिकाको मृत्यु हुने अवस्था तीन गुनाले बढाएको थियो।
कसरी हुन्छ प्रतिरोध
आर्टिमिजिनिनले औलोका परजीवीहरू मार्छ र औलो उपचारका लागि यो एउटा सबैभन्दा महत्त्वपूर्ण औषधि हो।
आर्टिमिजिनिनको असर प्रतिरोध गर्ने औलोका परजीवीहरू अफ्रिकामा पहिलो पटक रुवान्डामा र त्यसपछि युगान्डा र एरिट्रेयामा छुट्टाछुट्टै विकसित भएका हुन्।
यी प्रतिरोधी परजीवीहरू देखा परेका देशभित्रै र सीमाभरि पनि फैलिएका छन्।
अहिले ईथिओपिआ, एरिट्रेया, रुवान्डा, युगान्डा र तान्जानियामा १० प्रतिशतभन्दा बढी औलोका घटनाहरू यस्तै परजीवीको प्रतिरोधका कारण उत्पन्न भएका छन्।
“औलोविरोधी उपचार बढ्दो रूपमा अप्रभावकारी भइरहँदा लाखौँ मानिसको ज्यान जानुअघिनै कदम चाल्नुपर्छ,” नाइजिरियाको यूनिभर्सिटी अफ इलोरिनको बालचिकित्सा विभागका प्राध्यापक ओलुगबेङ्गा मोकुवलुले भने। बीबीसी
प्रतिक्रिया