भारतीय प्रधानमन्त्री मोदीद्वारा बेलायतका नवनियुक्त प्रधानमन्त्री स्टार्मरलाई भारत भ्रमणको निम्तो



नयाँ दिल्लीः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नवनिर्वाचित बेलायती प्रधानमन्त्री केअर स्टार्मरसँगको टेलिफोन वार्तालापको क्रममा चाँडै भारत भ्रमणको गर्न निमन्त्रणा दिएको भारतकाे प्रधानमन्त्रीको कार्यालयले जनाएको छ । ।

योसँगै उनलाई भारतीय प्रधानमन्त्री मोदीले बेलायतको प्रधानमन्त्रीमा निर्वाचित भएकोमा बधाई दिएका छन् ।

दुवै नेताहरूले भारत—बेलायत व्यापक रणनीतिक साझेदारीलाई अझ गहिरो बनाउने आफ्नो प्रतिबद्धतालाई जारी राखेका छन् ।

बेलायतको सामाजिक, आर्थिक र राजनीतिक विकासमा भारतीय समुदायको सकारात्मक योगदानको प्रशंसा गर्दै, दुवै नेताले जनता—जनताबीचको घनिष्ठ सम्बन्धलाई प्रवर्द्धन गर्न जारी राख्न सहमत भएको जनाइएको छ । भारतीय प्रधानमन्त्री मोदीले दुई देश आर्थिक सम्बन्धलाई अझ प्रगाढ बनाउन प्रतिबद्ध रहेको बताए ।

बेलायतको निर्वाचनमा लेबर पार्टीले ठूलो जनादेश प्राप्त गरेको छ भने १४ वर्षको कन्जरभेटिभ शासनपछि सत्तामा आएको छ । सन् २०१५ मा संसदमा प्रवेश गरेका पूर्व ब्यारिस्टर स्टार्मरले २०२० मा लेबर पार्टीको नेतृत्व ग्रहण गरेका थिए।

भारतीय प्रधानमन्त्री मोदीले यसअघि भारत र बेलायतबीचको सम्बन्धलाई प्रगाढ बनाउन पूर्व प्रधानमन्त्री ऋषि सुनकको योगदानको प्रशंसा गरेका थिए।

प्रकाशित मिति : १ श्रावण २०८१, मंगलबार  ८ : ३४ बजे