कास्कीमा एकै घरका छोरी/ज्वाइँसहित ७ जनाको मृत्यु



पोखरा । लगातार परेको अविरल वर्षाका कारण गए राती कास्कीमा आएको बाढीपहिरोले ११ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक मोहन कुमार थापाका अनुसार पहिरोले पुरिँदा पोखरा महानगरपालिका वडा नं १९ पुरनचौरमा ७ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । मृतकहरुमा वर्ष ४७ का कुलबहादुर परियार, उनकी ४३ वर्षीय श्रीमती मनकुमारी, आमा ८५ वर्षकी लक्षिमा, छोरीहरू १५ वर्षकी प्रसना, २० वर्षकी प्रभा र वर्ष २५ का ज्वाइँ अस्मित परियार रहेका छन् । पहिरोमा परेकी छोरी प्रभा र ज्वाँइ अस्मित चितवनबाट ससुराली पोखरा आएका थिए । सो घटना देखेपछि ४६ वर्षीया राधिका परियारको हर्ट अट्याक भई मृत्यु भएको प्रहरी उपरीक्षक थापाले जानकारी दिए । सो घटनामा मृत्यु भएका सबै जनाको शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको छ भने घाइते भएका पवन र कुमार परियारको पनि सोही अस्पतालमा उपचार भइरहेको छ ।

यसैगरी असार २८ गते राति करिब २ बजे सोही महानगरपालिका–३२ चैनपुरस्थित बाह्रबिसे बस्ने ४० बर्षिया आरती ओझाको ढुङ्गा माटोले बनेको टिनले छाएको १ तले कच्ची घरमा अविरल वर्षाको कारण पहिरोले घर पुरिँदा निज आरती ओझा, छोरी १८ बर्षिया अनिता ओझा, १२ बर्षिया अनुष्का ओझा र निजको दाईको छोरा ९ बर्षिय प्रतीक सुवेदीको मृत्यु भएको छ ।

सो घटनाको खबर प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ कालिका गण कास्कीबाट खटिएको १७ जनाको विशेष विपद् व्यवस्थापन टोली र नेपाल प्रहरीसहितको संयुक्त टोलीले खोजतलास गर्दा आरती ओझाको घाइते अवस्थामा जीवितै उद्धार गरी उपचारको लागि अस्पतालतर्फ पठाएको छ भने मृतकहरूको शव पश्चिम क्षेत्रीय अस्पतालतर्फ पठाइएको छ ।

यसैगरी असार २८ गते राति करिब १ बजे कास्की जिल्लाको मादी गाउँपालिका–११ तल्लो ताप्ले बस्ने ८० बर्षिया माइती कुमारी गुरुङको ढुंगा माटोले बनेको जस्ताले छाएको १ तले कच्ची घर अविरल वर्षाको कारण घर माथीबाट पहिरो आई घर पुरिन जाँदा निज गुरुङको मृत्यु भएको
छ ।

उक्त घरमा आमासँगै बस्दै आएका ५५ वर्षीय ओम बहादुर गुरुङलाई प्रहरी र स्थानीयले सकुशल उद्धार गरेका छन् । सो स्थानमा सशस्त्र प्रहरी बल नं। २४ कालिका गण कास्कीबाट टोली खटिएको थियो ।

प्रकाशित मिति : २८ असार २०८१, शुक्रबार  १० : ०९ बजे