भारतीय पर्यटकहरूले यूएईका ६० हजार आउटलेटहरूमा यूपीआईको प्रयोग गर्न सक्ने



दुबई— यूएई आउने धेरै भारतीय पर्यटकहरूले अब आफ्नो देशकै तत्काल भुक्तानी प्रणाली प्रयोग गरेर देशभर भुक्तान गर्न सक्षम हुनेछन्। भारतीय पर्यटकले क्यूआर आधारित एकीकृत भुक्तानी इन्टरफेस (यूपीआई) को प्रयोग गरी पसल, होटल, यातायात, र सुपरमार्केटहरू सहित विभिन्न क्षेत्रका ६० हजार केन्द्रमा भुक्तानी गर्न सक्नेछन् ।

यस्तै, यूपीआई छिट्टै रिटेल स्टोरहरू र खाना खाने होटलको साथै दुबई मल र एमिरेट्सको मल लगायत पर्यटक र मनोरञ्जन स्थलहरूमा पनि प्रयोग गर्न सकिनेछ ।

खाडी सहयोग परिषद्का देशहरूमा यात्रा गर्ने भारतीय पर्यटकहरूको संख्या २०२४ मा ९८ लाख पुग्ने अनुमान गरिएको छ । यूएईमा मात्र ५२ लाख बढीले भ्रणण गर्ने प्रक्षेपण गरिएको छ ।

यूपीआईका ३५० मिलियन भन्दा बढी सक्रिय प्रयोगकर्ताहरू रहेका छन् । मे २०२४ मा मात्रै यसले १४ दशमलव ०४ बिलियन कारोबार गरेको थियो।

यस वर्षको सुरुमा, दुबईमा रहेको माश्रेक बैंकसँगको साझेदारीले भारतीय पर्यटकलाई यूपीआई मार्फत भुक्तानी गर्न सहज भएको छ ।

 

प्रकाशित मिति : २६ असार २०८१, बुधबार  १२ : ३१ बजे