काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निलम्बित महामन्त्री मुकुल ढकालले पार्टी पार्टीजस्तो नभइ एनजीओजस्तो भएको टिप्पणी गरेका छन्।
देश दौडाहमा पुगेर तयार पारेको प्रतिवेदनमा ढकालले पार्टीमा राजनीतिक संस्कार र बुझाइमा कमी देखिएको उल्लेख गरेका छन्।
बुधबार बसेको केन्द्रीय समिति बैठकमा प्रस्तुत प्रतिवेदन कार्यवाहक प्रवक्ताको जिम्मेवारी सम्हालेका मनिष झाले सार्वजनिक गरेका हुन्।
‘विभिन्न विचारबाट आएका साथीहरू हुँदा र प्रत्येक विषयमा अल्पमत र बहुमत के हुनसक्छ भनेर निर्णय गर्दा पार्टीको मूल विचार नै छायाँमा पर्यो। राजनीतिक पार्टीको मूल विचार एउटै हुनुपर्छ र मूल विचारको बाटोमा हिँड्दा कता कहीँ जानेमा द्विधा भएमा छलफलअनुसार निर्णय गर्नुपर्नेमा एउटा एनजिओ जसरी चल्न खोज्दा त्यसले पार्टीका कदमहरू राजनीतिक देखिन सकेन।’ प्रतिवेदनमा ढकालले लेखेका छन्, ‘ पार्टी यसै कारण तटस्थवाद, यथास्थितिवाद र तदर्थवादमा फसेको छ।’
उनले सभापतिसहितका नेताले काम गर्ने भन्दा धेरै बोलेकाले समस्या भएको पनि उल्लेख गरेका छन्।
‘चेसमा रानी धेरै चल्दैन, तर हाम्रो पार्टीमा किन सभापति नै धेरै चलेको ? सभापति आफैं गृहमन्त्री भएर किन गएको ? सिके राउतजस्तो ब्याकमा किन नबसेको? ढकालले प्रश्न गरेका छन्, जिबि राई कहिले समातिन्छन्? समात्न सकिँदैनथ्यो भने प्रतिपक्षीमा हुँदा किन म्याद नै तोकेर बोलेको? ’
उनले सभापतिसँग भेट्नभन्दा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्न सजिलो रहेको पनि प्रतिवेदनमा उल्लेख गरेका छन्।
ढकाललाई रास्वपाले एक साताका लागि निलम्बन गरेको छ।
(हेर्नुहोस् प्रतिवेदनको पूर्णपाठ)
यस्ता छन्, रविलाई सोधिएका १० प्रश्नः
-चेसमा रानी धेरै चल्दैन, तर हाम्रो पार्टीमा किन सभापति नै धेरै चलेको ? सभापति आफैँ गृहमन्त्री भएर किन गएको ? सिके राउत जस्तो ब्याकमा किन नबसेको ?
-जिबि राई कहिले समातिन्छन् ? समात्न सकिदैँनथ्ये भने प्रतिपक्षीमा हुँदा किन म्याद नै तोकेर
बोलेको ?
-सभापतिसँग भेट्नभन्दा नरेन्द्र मोदीलाई भेट्न सजिलो छ।
-सभापतिको सचिवालयमा मृदुभाषी भएनन्। यही सचिवालयबाट अगाडि बढे सभापतिबाट राजनीति सम्भव छैन।
-किन ग्यालेक्सीको टिम धेरै भयो? सभापतिले विश्वासको दायरा बढाउन नसकेको हो?
-सरकारमा गएपछि सोचे अनुरूप फाइल किन खोलिएन ?
-निर्मला पन्तलाई न्याय कहिले मिल्छ ?
-ब्लु बस र रोजगारीको कुरा कता पुग्यो?
-सभापतिमा त्यागको भावना छैन भन्ने सन्देश गएको छ।
-सिधाकुरा जनतासँग कार्यक्रममा बोलेका कुरा जनताले सम्झिराखेका छन् तर सभापतिले बिर्सिए जस्तो छ। पार्टीको मेरूदण्ड नै त्यही कार्यक्रम थियो। पार्टीमा सिधाकुरा जनतासँगकार्यक्रमका मान्छे पनि केन्द्रीय स्तरमै आए, सभापतिको सचिवालयमा नै बसे तर तिनीहरूले पनि सिधाकुरा जनतासँग कार्यक्रम बिर्सिए र अरू राजनीति गर्न थाले।
प्रतिक्रिया