नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश



काठामाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापालाई थुनामा पठाइएको छ। जिल्ला अदालतमा थुनछेक बहसपछि थुनामा पठाउने आदेश भएको हो। नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको अभियोग उनीमाथि छ।

प्रतीकलाई सीआईबीको टोलीले असार १४ गते बौद्धबाट पक्राउ गरेको थियो । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि उनी फरार थिए ।

उक्त प्रकरणमा थापाले बिचौलियाको भूमिका निभाएको प्रहरीको अनुसन्धानले खुलाएको थियो । भुटानी शरणार्थी प्रकरणमा पीडितबाट थापाले रकम लिएको भन्दै जाहेरी परेको थियो ।

यस प्रकरणमा बादलका सुरक्षा सल्लाहकार इन्द्रजीत राई, राईका छोरा निरज राई, तत्कालीन उर्जामन्त्री टोपबहादुर रायमाझी, उनका छोरा सन्दीप रायमाझी पनि जोडिएका थिए ।

प्रकाशित मिति : १८ असार २०८१, मंगलबार  ५ : २५ बजे