सरकार ढल्ने निश्चित भएपछि प्रधानमन्त्री र गृहमन्त्री लामिछाने छलफलमा जुटे



काठमाडौं : सरकार ढल्ने भएपछि प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री रवि लामिछानेबीच भेटवार्ता भएको छ। सिंहदरबारमा १ घण्टा छलफल गरेर गृहमन्त्री लामिछाने बाहिरिएका छन्।

प्रधानमन्त्री दाहालले एमालेबाट सरकारमा सहभागी सबै मन्त्रीलाई बर्खास्तको तयारी गरिरहेका बेला लामिछानेले संवाद गरेका हुन् ।

दाहालले मंगलबार नै राष्ट्रपति रामचन्द्र पौडेललाई भेटिसकेका छन् । अहिले उनी गृहमन्त्री लामिछानेसँग छलफलमा जुटेका हुन् ।

प्रधानमन्त्री एमाले–कांग्रेस समीकरण बने पनि तत्काल सरकारबाट राजीनामा नदिने बरु विश्वासको मतको सामना गर्ने बताएका छन् । दाहाल पछि नहट्ने भएपछि नयाँ समीकरणलाई पनि समस्या भएको छ ।

यसबीचमा दाहालले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेको पनि चर्चा छ। उता उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई एक वर्षपछि स्वत: प्रधानमन्त्री हुने अवस्थामा समीकरण फेरबदलमा नलागेको भए हुन्थ्यो भनेर गुनासो राखेका थिए ।

दाहालले आफैं प्रधानमन्त्री बन्नु भनेपछि देउवाले ओलीसँग सहमति गरिसकेकाले अहिलेलाई सहकार्य सम्भावना सकिएको जवाफ दिएका छन् । तर दाहाल अझै पनि विश्वासको मतको ३० दिनको समयसम्म कांग्रेसलाई आफ्नो कित्तामा उभ्याउने कोसिसमा छन् ।

प्रकाशित मिति : १८ असार २०८१, मंगलबार  ५ : ०० बजे