भारतले कुम्भ मेला २०२५ मा भीड व्यवस्थापनका लागि एआई—आधारित प्रविधि प्रयोग गर्ने



लखनऊ— उत्तर प्रदेश सरकारले प्रयागराजमा आगामी महाकुम्भ २०२५ मा भीड व्यवस्थापनको लागि कृत्रिम बौद्धिकता (एआई) मा आधारित टेक्नोलोजी र उपकरणहरू प्रयोग गर्ने घोषणा गरेको छ।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले राज्य प्रहरी विभागलाई मेगा इभेन्टका लागि प्रविधि अपनाउन निर्देशन दिएका छन्।

कुम्भ मेला भारतको समृद्ध धार्मिक र सांस्कृतिक सम्पदा हो। त्यसैले, कार्यक्रममा सुरक्षा, सुविधा र सरसफाइ सुनिश्चित गर्न आवश्यक रहेको मुख्यमन्त्री आदित्यनाथले आफ्नो निवासमा भएको वरिष्ठ अधिकारीहरूको बैठकमा भने।

मेलामा विश्वभरका तीर्थयात्री र पर्यटकहरू आउन सक्ने गरी प्रचारप्रसार गर्न व्यावसायिक निकायहरूलाई संलग्न गराउन निर्देशन पनि दिएका छन् ।

‘प्रहरी विभाग र अन्य सरोकारवालाहरूले प्रभावकारी भीड व्यवस्थापनको लागि कुनै पनि अप्रिय घटनालाई रोक्न प्रविधिको फाइदा उठाउनै पर्छ। विस्तृत कार्य र आकस्मिक योजना तर्जुमा गरिनुपर्छ। भीडको घनत्वमा नजर राख्न एआई—आधारित उपकरण र प्रविधिहरू प्रयोग गर्नुपर्छ।’, उनले भने।

मुख्यमन्त्रीले गंगा र कल्पवासी महाकुम्भको आत्मा भएको बताए र मेलालाई हरियो थिम वरिपरि आयोजना गर्न सुनिश्चित गर्न अधिकारीहरूलाई निर्देशन दिए।

उनले सम्बन्धित विभागहरूलाई बिजनौरदेखि बलियासम्म गंगा नदी सफा राख्न पनि निर्देशन दिएका छन् ।

बैठकमा सहभागी अधिकारीहरुले सन् २०१९मा ३२०० हेक्टरमा कुम्भ मेला आयोजना गरिए पनि २०२५ को मेला चार हजार हेक्टरमा आयोजना गरिने जानकारी दिए ।

उनले अन्तर्राष्ट्रिय भीआइपी तथा भिभिआइपी अतिथिका लागि पर्याप्त व्यवस्था मिलाउन पनि आयोजकलाई निर्देशन दिए ।

सहरी विकास विभागले तीर्थयात्रीको सुविधाका लागि मेला वरिपरि १ लाख ५० हजार भन्दा बढी शौचालय बनाइने जनाएको छ ।

प्रकाशित मिति : १८ असार २०८१, मंगलबार  ३ : ०० बजे