नागरिक उन्मुक्ति पार्टीे संसदीय दलको नेताबाट रञ्जितालाई हटाइयो, गंगाराम चयन



काठमाडौं– नागरिक उन्मुक्ति पार्टी (नाउपा) का प्रतिनिधिसभामा रहेका बहुमत सदस्यले दलको नेताबाट रञ्जिता श्रेष्ठ (चौधरी)लाई हटाएका छन् ।
अध्यक्ष समेत रहेकी श्रेष्ठलाई दलको नेताबाट हटाउँदै बहुमत सांसदले यसअघि दलको प्रमुख सचेतक रहेका गंगाराम चौधरीलाई दलको नेता चयन गरेका छन्। रञ्जिता नाउपाका संस्थापक नेता रेशम चौधरीकी पत्नी हुन्।

प्रतिनिधिसभामा चार जना सांसद रहेको नाउपामा रेशम र रञ्जिताबीच राजनीतिक रुपमा तीव्र मतभेद छ। सांसद गंगा चौधरी, अरुण चौधरी र लालवीर चौधरी (रेशम चौधरीका बुबा) रञ्जिता श्रेष्ठलाई दलको नेताबाट हटाएका हुन्।

त्यस्तै प्रमुख सचेतक पदमा रहेका डगौराको स्थानमा लालवीर चौधरीलाई प्रमुख सचेतक बनाउने निर्णय सर्वसम्मतिबाट पारित गरिएको नागरिक उन्मुक्ति पार्टीको विज्ञप्तीमा उल्लेख छ।

आफूलाई संसदीय दलको नेताबाट हटाइएको बारेमा कुनै जानकारी नभएको रञ्जिताले बताएकी छन्। थाहाखबरसँग कुराकानी गर्दै उनले आफूलाई कुनै जानकारी नभएको र कसैले टीकापुरमा बसेर गरेको निर्णय नमान्ने बताएकी छन्।

उनले भनिन्, ‘संसदीय दलको नेता परिवर्तन गर्ने कुनै एउटा कोठामा बसेर गर्ने हैन, म काठमाडौंमा नै छु, उहाँहरुले टीकापुरमा बसेर गरेको निर्णय मान्य हुँदैन।’

यता प्रमुख सचेतक बनाइएका लालवीर चौधरीले भने संसदीय दलको नेता र प्रमुख सचेतक परिवर्तन गरिएको जानकारी दिँदै आफूहरु काठमाडौं आइपुगेको बताए।

प्रकाशित मिति : १७ असार २०८१, सोमबार  ९ : ५३ बजे