एक पुरुषसँग जबरजस्ती इन्गेजमेन्ट गराएपछि चिनियाँ महिलाले गरिन् देहत्याग



हेनान— चीनमा एक १९ वर्षीया युवतीले ब्लाइड डेटमा भेटेको व्यक्तिसँग विवाह गर्न परिवारले जबरजस्ती गरेपछि नदीमा हाम फालेर आफ्नो जीवन समाप्त गरेकी छन् ।

रिपोर्टका अनुसार उनलाई पाँच दिन अघि मात्र भेटेको व्यक्तिसँग इन्गेजमेन्ट गर्न बाध्य पारिएको थियो ।

मध्य चीनको हेनान प्रान्तकी टोङटोङलाई पाँच दिनअघि मात्र भेटेको एक पुरुषसँग विवाह गर्न दबाब दिइएको थियो । महिलाकी आमाले आर्थिक अवस्था राम्रो भएको केटासँग विवाह भए जीवन सहज हुने विश्वास लिएको साउथ चाइना मर्निङ पोस्टले उल्लेख गरेको छ।

ती महिला र उनकी आमाले स्थानीय बजारमा एउटा सानो कपडा पसल चलाउने गर्दथे ।

उक्त व्यक्तिले विवाहको प्रस्ताव गर्दा टोङटोङले अस्विकार गरेकी थिइन् । यद्यपी उनकी आमा र एक विवाह गराउने लमीले उनीलाई विवाह गर्न बाध्य पारेको उक्त पत्रिकाले लेखेको छ ।

उक्त व्यक्तिको परिवारले टोङटोङकी आमालाई विवाहको लागि दुलहीको मूल्य स्वरुप २७०,००० युआन ( ४०,००० अमेरिकी डलर) दिएका थिए। लमीले ले विवाहको लागि मिलाइदिने बापत ४८ सय युआन (७०० अमेरिकी डलर) लिएको साउथ चाइना मर्निङ पोस्टले लेखेको छ ।

विवाह गर्ने ती मानिसको धेरै माग भएका कारण छोरीले विवाहको लागि अस्विकार गरेको ती आमाले एक स्थानीय पत्रिकालाई बताईन् ।

ती महिलाको मृत्युपछि ती व्यक्तिले आमासँग दुलहीको मूल्य फिर्ता गर्न माग गरेका थिए ।

आमाले उसलाई १ लाख ८० हजार युआनमात्र दिइन्, तर बाँकी रकम फिर्ता गर्न उनले अस्वीकार गरिन् । आमाले ती मानिसले आफ्नो उमेरको बारेमा झूटो बोलेको दाबी गरेकी छन् । उनले ती मानिसले आफू टोङटोङ भन्दा चार वर्ष मात्र जेठो भएको बताएपनि आठ वर्ष जेठो भएको पत्ता लागेको साउथ चाइना मर्निङ पोस्टले उलेख गरेको छ ।

प्रकाशित मिति : १३ असार २०८१, बिहिबार  ११ : ४५ बजे