काठमाडौँ थलीमा मृत भेटिएका पुरुषको पहिचान खुल्यो



काठमाडौँको कागेश्वरी मनहरा नगरपालिका वडा नम्बर ५, सानोथलीमा मृत भेटिएका पुरुषको पहिचान खुलेको छ।

थली प्रहरीका अनुसार उनी भक्तपुर–७, छालिङका ५२ वर्षीय कृष्ण नगरकोटी भएको पत्ता लागेको हो।

शवको साथमा भेटिएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) का आधारमा उनको परिचय पत्ता लागेको प्रहरीले जनाएको छ।

‘उहाँको आफन्तचाहिँ आइसकेका छैनन्’, घटनास्थलमा रहेका एक प्रहरीले भने, ‘पोस्टमार्टमका लागि शव त्रिवि शिक्षण अस्पताल लगिँदै छ।’

प्रहरीका अनुसार कपडाले मुख ढाकिएको अवस्थामा फेला परेको शवनजिकै दुइटा ब्लेड पनि भेटिएका छन्। घटना शंकास्पद रहेकाले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ८ जेष्ठ २०८१, मंगलबार  ९ : ५० बजे