विश्वकपअघि नेपालले अमेरिका र क्यानडासँग टी-२० अभ्यास खेल खेल्ने



आइसिसी टी-२० विश्वकपअघि नेपालले अमेरिका र क्यानडासँग अभ्यास खेल खेल्ने भएको छ। अहिले वेस्ट इण्डिजको सेन्ट भिसेन्टमा विश्वकपको तयारी गरिरहेको नेपालले अमेरिका फर्केपछि टेक्सासमा अमेरिका र क्यानडासँग टी-२० अभ्यास खेल खेल्ने भएको हो।

नेपालले जेठ १४ (मे २७)मा क्यानडा र जेठ १७ (मे ३०)मा अमेरिकासँग खेल्नेछ। केही दिन सेन्ट भिसेन्टमा तयारी गरेपछि नेपाली टोली जेठ ७ मा अमेरिकाको टेक्सासमा फर्कनेछ। ह्युस्टमा पाँच दिन अभ्यास गरेपछि आइसिसी विश्वकपका वार्मअप खेल सुरू हुनेछन्।

नेपाली टोलीमा कप्तान रोहितसहित आसिफ शेख, अनिलकुमार साह, कुशल भुर्तेल र सन्दीप जोरा प्रमुख ब्याटरको रूपमा छन्। दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल र गुल्सन झा अलराउन्डर छन्। सोमपाल कामी, करण केसी, प्रतिश जिसी र कमलसिंह ऐरी तीव्र गतिको युनिटमा छन्। करण र सोमपाललाई बलिङ अलराउन्डरको रूपमा पनि टोलीले लिएको छ। स्पिनरका रूपमा सागर ढकाल र ललित राजवंशी छन्।

बलात्कार मुद्दामा उच्च अदालत पाटनले सफाइ दिएपछि लेग स्पिनर सन्दीप लामिछानेलाई पनि विश्वकप खेल्न पठाउने तयारी क्यानले गरेको छ। टी-२० विश्वकप २०२४ मा नेपाल समूह ‘डी’ मा छ। समूहमा नेपालले दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ।

नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग जेठ २२ अमेरिकाको डालास र जेठ २९ मा श्रीलंकासँग अमेरिकाकै फ्लोरिडामा प्रतिस्पर्धा गर्नेछ। बाँकी खेल जेठ ३२ मा दक्षिण अफ्रिकासँग र असार २ मा हुने बंगलादेशसँग सेन्ट भिसेन्टमा हुनेछ।

अमेरिका र वेस्ट इन्डिजले आइसिसी टी-२० विश्वकप २०२४ संयुक्त रूपमा आयोजना गर्न लागेका हुन्। पहिलोपटक उत्तर अमेरिका क्षेत्रमा पनि हुन लागेको टी-२० विश्वकपमा २० टोलीले सहभागिता जनाउँदैछन्।

विश्वकपमा ५५ खेल हुनेछन्। सुरूमा २० टोलीलाई ५-५ टिमको ४ समूहमा विभाजन गरिएको हो। चार समूहका शीर्ष २-२ टोली गरी कुल ८ टोली सुपर-८ मा पुग्नेछन्। सुपर-८ मा पनि दुई समूहमा प्रतिस्पर्धा हुनेछन्। सुपर-२ को दुई समूहका शीर्ष २-२ टोली सेमिफाइनलमा पुग्नेछन्।

प्रकाशित मिति : ४ जेष्ठ २०८१, शुक्रबार  ९ : ४३ बजे