मनाङ जोड्ने सडक दुई दिन बन्द रहने



हिमालपारिको जिल्ला मनाङलाई जोड्ने बेँसीशहर-चामे सडक दुई दिन बन्द हुने भएको छ।

नासोँ गाउँपालिका-९ दानाक्यु नजिकै सडक मर्मतका लागि आज दिउँसो २ बजेदेखि आइतबार बिहान १० बजेसम्म सडक बन्द हुने भएको हो। सडकको ढलान भत्किएर अत्यन्तै जोखिम रहेको र वैकल्पिक सडक नभएकाले बन्द गरेर मर्मत गर्न यातायात पूर्णरुपमा ठप्प हुने जिल्ला प्रशासन कार्यालय, मनाङले जनाएको छ।

डुम्रे बेँसीशहर चामे सडक योजना कार्यालयका इन्जिनियर सुमन अधिकारीले दानाक्यु नजिकै कल्भटको वरिपरि भत्किएको र बाटोमा ढुङ्गा निस्किएकाले मर्मत गर्न लागिएको बताए। सवारी साधन सञ्चालनमा धेरै समस्या हुन थालेपछि मर्मतका लािग सडक नै बन्द गर्नु परेको अधिकारीले बताए।

नासोँ गाउँपालिका अध्यक्ष धनबहादुर गुरुङले दानाक्युमा सडक जीर्ण हुँदा दुर्घटनाको जोखिम बढेको बताए। विशेष गरी आफ्ना पालिकाका नागरिक र मनाङवासीलाई सडकका कारण धेरै दुःख भएको उनको भनाइ छ। यो स्थानमा रहेको काठेपुल २०७७ असारमा आएको बाढीले बगाएको थियो। त्यसपछि पटकपटक काठेपुल राखे पनि भत्किँदै आएको थियो।

२०७८ चैतमा बेँसीसहर चामे सडक बन्द गरेर कल्भर्ट राखिएको थियो। अहिले कल्भर्ट राखिएको वरिपरि तथा ढलान गरिएको भागमा ढुङ्गा खसेर भत्किएको छ।

मनाङलाई सडक सञ्जालमा जोड्ने सरकारको योजनाअनुरूप २०५१ सालदेखि सडक डिभिजन कार्यालय दमौली-तनहुँ शाखाले बेँसीशहर चामे सडक निर्माण अघि बढाएको थियो। नेपाली सेनाले २०६९ सालमा सडक निर्माण गरी सडक डिभिजन कार्यालयलाई हस्तान्तरण गरेको थियो। सडक ६५ किलोमिटरमध्ये लमजुङतर्फ ३५ र मनाङतर्फ ३० किलोमिटर पर्छ।

प्रकाशित मिति : २० फाल्गुन २०८०, आइतबार  ११ : २४ बजे