वाफ च्याम्पियनशिपमा नेपाल उपविजेता, फाइनलमा जोर्डनसँग पराजित



वाफ महिला च्याम्पियनशिपको फाइनलमा नेपाल जोर्डनसँग टाइब्रेकरमा पराजित भएको छ।

गएराति साउदी अरबको जेद्दास्थित प्रिन्स अब्दुल्लाह अल फैजल रंगशालामा सम्पन्न फाइनल खेलमा नेपाल जोर्डनसँग टाइब्रेकरमा पाँच-तीन गोलले पराजित भएको हो। जोर्डन छैटौं पटक उपाधि जित्न सफल भएको छ। नेपाल पहिलो सहभागितामै उपविजेता बनेको हो।

निर्धारित समयमा दुवै टोली दुई दुई गोल गरेपछि खेल टाइब्रेकरमा गएको थियो। त्यसपछि भएको पेनाल्टी सुटआउटमा नेपालको एक प्रहार जोर्डनकी गोलरक्षक स्रेरिन आइसलबेले रोकेकी थिइन्।

पेनाल्टी सुटआउटमा जोर्डनका पाँचै खेलाडीले गोल गरे। नेपालका तर्फबाट पनि गीता राना, दीपा शाही र हीरा भुजेलले गोल गरे। चौथो नम्बरमा आएकी अमृता जैशीले गोल गर्न सकिनन्।

यसअघि नेपालले पहिलो हाफमै गोल गरेको थियो। नेपालका लागि सविता राना मगरले खेलको २९औं मिनेटमा गोल गरेकी थिइन्।

त्यस्तै खेलको ७४औं मिनेटमा जोर्डनकी लाना फेरासले गोल गर्दै खेललाई एक-एक गोलको बराबरीमा ल्याइन। त्यसपछि खेलको ८९औं मिनेटमा जोर्डनले खेलमा दोस्रो गोल गरेको थियो। जोर्डनका लागि साराह अबु साबाहले गोल गरेकी थिइन्।

खेलको अत्तिरिक्त समयमा नेपालले पेनाल्टी पायो। नेपालका लागि गीता रानाले गोल गरेपछि खेल दुई-दुईको बराबरीमा पुगेको थियो।

पेनाल्टी सुटआउटमा पराजित भएसँगै नेपाल उपविजेतामै सीमित बनेको छ। जोर्डने छैटौं पटक उपाधि जितेको छ। फिफा बरियतामा नेपाल १०५औ स्थानमा छ भने जोर्डन ७४औं स्थानमा छ।

प्रकाशित मिति : १८ फाल्गुन २०८०, शुक्रबार  ९ : ४६ बजे