आज देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना



हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ। यतिबेला (मंगलबार बिहान) गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदलीको अवस्था छ। बाँकी भूभागको मौसम भने आंशिक बदलीको अवस्थामा छ।

अहिले तराई/मधेशका थोरै स्थानमा हल्का हुस्सु लागिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो पनि गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा साधारणतया बदलीको अवस्थामा रहने छ। बाँकी भूभागको मौसम भने आंशिक बदलीदेखि मुख्यतया सफा रहने पूर्वानुमान महाशाखाले गरेको छ।

आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने छ। साथै देशका बाँकी पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ। देशका बाँकी उच्च पहाडी तथा हिमाली भूभागका पनि थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले मंगलबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ।

आज राति पनि देशको पहाडी भूभागकाे माैसम आंशिकदेखि साधारणतया बदलीकै अवस्थामा रहने छ। देशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ। सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानसँगै देशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रकाशित मिति : ८ फाल्गुन २०८०, मंगलबार  ११ : २९ बजे