माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक जारी



काठमाडौ ।

सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक जारी रहेको छ। राष्ट्रियसभा गृहमा सुरु भएको माओवादी केन्द्रको बैठक आज र भोली चल्नेछ।

माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाका अनुसार केन्द्रीय कमिटीको बैठकको पहिलो दिन जनतासँग माओवादी विशेष अभियानको समिक्षा र दोस्रो दिन विधानका बारेमा छलफल हुनेछ। गत भदौ १६ गतेदेखि सुरु भएको अभियान पुस १७ गतेसम्म सञ्चालन भएको थियो।

बैठकमा प्रदेश इञ्चार्ज र प्रदेश अध्यक्षहरूले जनतासँग माओवादी विशेष रूपान्तरण अभियानको रिपोर्ट पेश गरिरहेका छन्। बैठकमा नेतृत्व चयनका प्रक्रियाका साथै अन्य पार्टीभित्रको व्यवस्थालाई विधानमा कसरी समेट्ने भन्ने बारेमा बैठकमा छलफल हुनेछ। बैठकमा समसामयिक राजनीति र सरकारका कामकारबाहीका विषयवस्तुमा पनि छलफल हुनेछ।

माओवादीले फागुन १ देखि ३ गतेसम्म विधान सम्मेलनको आयोजना गरेको छ। विधानको मस्यौदाका लागि माओवादीले उपाध्यक्ष पम्फा भुसालको संयोजकत्वमा विधान मस्यौदा समिति गठन गरेको थियो। उक्त समितिले प्रस्ताव गरेको विधानमाथि माओवादीको स्थायी समिति बैठकमा छलफल गरिसकेको छ।

माओवादीको केन्द्रीय समिति चार सय नौ सदस्यीय छ। यस्तै, वैकल्पिक केन्द्रीय सदस्य एक सय ९० जना छन्। यस्तै सात वटा भौगोलिक र तीन गैरभौगोलिक प्रदेश समितिका पदाधिकारीलाई पनि बैठकमा आमन्त्रण गरिएको माओवादीले जनाएको छ।

प्रकाशित मिति : २८ माघ २०८०, आइतबार  २ : १५ बजे