पाकिस्तानमा इमरान समर्थकले बनाए फराकिलो अग्रता, दोस्रोमा नवाजको पार्टी



पाकिस्तानमा नेशनल एसेम्बली र प्रान्तीय चुनावका लागि बिहीबार सम्पन्न निर्वाचनको मतपरिणाम आइरहँदा पूर्वप्रधानमन्त्री इमरान खान समर्थक स्वतन्त्र उम्मेदवारहरूले धमाधम जित निकाल्न थालेका छन्। शुक्रबार दिउँसो पौने ३ बजेसम्म हाल जेलमा इमरान खान नेतृत्वको पार्टीका समर्थक स्वतन्त्र उम्मेदवारहरूले ४२ सिटमा जितसहित अग्रता बढाएका हुन्।

जम्मा २६५ सिटमा भएको मतदानपछिको गणनाअनुसार अहिलेसम्म १०७ सिटको नतिजा आइसकेको छ। ताजा अवस्थामा पाकिस्तान तेहरिक इन्साफ पार्टीको समर्थनमा मैदानमा उत्रिएका उम्मेदवारहरूले ४२ सिटमा जितसहित अन्य दुई दललाई फराकिलो अन्तरमा पछि पारेका हुन्। अर्कातिर चौथो पटक प्रधानमन्त्रीको दौडमा रहेका नवाज शरिफसम्बद्ध पाकिस्तान मुस्लिम लिगले ३४ सिट जित्दै दोस्रो स्थानमा छ।

उता बिलवाल भुट्टो नेतृत्वको पाकिस्तान पिपुल्स पार्टीले २७ सिटमा जितसहित तेस्रो स्थानमा छ। प्रधानमन्त्रीको दौडमा रहेका नवाज शरिफले उम्मेदवारी दिएका २ मध्ये १ सिटमा पराजय भोगेका छन्। नवाज मनसेहरा सिटमा पराजित हुँदा लाहौरबाट विजयी भए। लाहौरमा जितेपछि भावी प्रधानमन्त्रीको दौडबाट उनी बाहिरिनु परेन।

मुस्लिम बहुल पाकिस्तानमा एकजना हिन्दु उम्मेदवारले लगातार दोस्रो पटक संसद् यात्रा तय गरेका छन्। हिन्दु उम्मेदवार महेश मलानीले एनए-२१५ सिटबाट लगातार दोस्रो पटक जित निकालेका हुन्। सिन्ध प्रान्को एनए-२१५ सिटबाट पाकिस्तान पिपुल्स पार्टिका महेश मलानी विजयी भएका हुन्। महेश पाकिस्तानमा पहिलो यस्ता हिन्दु व्यक्ति हुन्, जसले नेशनल एसेम्बलीमा लगातार दोस्रो पटक जित निकालेका हुन्।

नवाज सरिफका भाइ एमव् पाकिस्ता मुस्लिम लिगका अध्यक्ष शाहबाज शरिफ पनि विजयी भएका छन्। इमरानलाई सत्ताबाट हटाएर प्रधानमन्त्री बनेका उनले लाहौरको एक सिटबाट संसद् यात्रा पक्का गरे। चुनावअ घिसम्म उनै पाकिस्तानका प्रधानमन्त्री थिए।

नवाज शरिफकी छोरी मरियम नवाज लाहौरको एक सिटबाट विजयी भएकी छन्। जहाँबाट नवाज पनि विजयी भए। नवाजकी छोरी विजयी भएको सिटमा इमरान समर्थक उम्मेदवार शहजाद फारूग हारे। इमरान जेल गएपछि गत डिसेम्बरमा पीटीआईको अध्यक्ष बनेका गौहर अली खान पनि राष्ट्रिय संसद्मा जित दर्ता गराउन सफल भएका छन्।

यसैबीच इस्लामाबाद पुलिसले इमरान खानको पार्टी पीटीआईका ३० कार्यकर्तालाई पक्राउ गरेको छ। उनीहरूविरुद्ध जाहेरीपछि पक्राउ गरिएको हो। उनीहरूले सडकमा निस्किँदा हतियार बोकेको भन्दै पक्राउ गरेर मुद्दा चलाइएको हो।

पीपीपीका अध्यक्ष बिलावल अली भुट्टोका पिता आसिफ अली जरदारीले पनि जित निकालेका छन्। उनले सहिद बेनजीराबादको एनए-२०७ सिटमा जित निकालेका हुन्। उनले १ लाख ४६ हजार ९८९ मत पाए। पछि परेर पनि पाकिस्तान मुस्लिम लिगले नवाज शरिफले भिक्ट्री स्पिच दिने बताएको छ। नवाज शरिफकी छोरी मरियम नवाजले गलत धारणाका बावजुद पीएमएल-एन केन्द्र र पञ्चाजमा सबैभन्दा ठूलो पार्टी बनेर आएको बताइन्।

उनले पीएमएल-एनका सुप्रिमो नवाज शरिफ अन्तिम नतिजा घोषणापछि भिक्ट्री स्पिचका लागि तयार रहेको बताइन्। उता इमरानको समर्थन पाएका निर्दलीय उम्मेदवारहरूले पाकिस्तान चुनाव आयोगले जानाजान नतिजामा ढिलाइ गरेको आरोप लगाएका छन्। उनीहरूले आफूहरूको मत पनि चोरिएको दाबी गरेका छन्।

प्रकाशित मिति : २६ माघ २०८०, शुक्रबार  ४ : ३८ बजे