जेलबाटै चुनाव जित्ने योजना बनाइरहेका इमरान खान: प्रचारमा प्रविधिको प्रयोग, एआईबाट भाषण



पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान जेलमा छन् । खानलाई सार्वजनिक पद धारण गर्न प्रतिबन्ध लगाइएको छ । खान र उनकी पत्नी बुशरा बिबीलाई भ्रष्टाचारको मुद्दामा अदालतले १४ वर्षको कारावास सजाय सुनाएको छ । यसअघि खानलाई राज्यको गोपनीयता भङ्ग गरेको अर्को अभियोगमा मङ्गलवार १० वर्षको जेल सजाय सुनाइएको थियो । यद्यपि उनले आफूविरुद्ध लगाइएका मुद्दाहरू राजनीतिक उद्देश्यले प्रेरित भएको बताउने गरेका छन् ।

उनी जेल परेसँगै उनको दल पीटीआईको राजनीतिक उचाइ खस्किएको छ । तर, उनको दलले भने बिहीबार हुने आम चुनाव जित्न सकिन्छ भन्ने आशा मारेको छैन ।

पीटीआईले अधिकारीहरूका कारबाहीसँग जुझ्न सामाजिक सञ्जालको साथ लिने योजना बनाएको छ । पीटीआईले यसअघि परीक्षण नभएका नयाँ उम्मेदवारहरू अघि सारेको छ ।

दलका सबै उम्मेदवारहरू प्राविधिक रूपमा स्वतन्त्र छन् । निर्वाचन आयोगले पीटीआईलाई क्रिकेट ब्याटको चुनाव चिह्न प्रयोग गर्न नदिने निर्णय गरेपछि उनीहरू स्वतन्त्र उम्मेदवार भएका हुन् ।

प्रत्येक उम्मेदवारको आफ्ना बेग्लै चिह्न छन् । पीटीआईले चुनावको तयारीमा रहेका अनगिन्ती अवरोधमध्ये चिह्न एक भएको जनाएको छ । तर, उक्त दल निरन्तर लडिरहेको छ।

सडकमा चिच्याइरहेका डारजस्ता उम्मेदवारहरू हुन् वा नेतालाई जेलको कोठाबाट र्‍यालीसम्म पुर्‍याइरहेको प्रविधि नै किन नहोस् उक्त दलले यस लडाइमा आफूसँग भएका सबै उपाय प्रयोग गर्न खोजिरहेको छ ।

कतिपय उम्मेदवार जेलमै रहेर पनि प्रचारप्रसार गरिरहेका छन् । कुनै अपराधमा दोषी नभइसकेको अवस्थामा जेलमै बसेर पनि उनीहरू चुनाव लड्न सक्छन् । अन्य केही भने प्रहरीलाई पूरै छलेर गोप्य रूपमा चुनावी अभियान चलाइरहेका छन् ।

पीटीआईको चुनावी अभियानमा प्रविधि महत्त्वपूर्ण साबित भएको छ । पार्टीको आधिकारिक फेसबुक, इन्स्टाग्राम र टिकटक अकाउन्ट प्रत्येकमा करोडौँ फलोअरहरू छन् । अन्य दुई मुख्य पार्टीहरू पीपीपी र पीएमएल-एनलाई जोडेर आउने फलोअर्स भन्दा पनि धेरै पीटीआई एक्लैका छन् ।

इमरान खान प्रमुख तीन दलका नेताहरूमध्ये तीनवटै सामाजिक सञ्जालमा व्यक्तिगत खाता हुने एक मात्रै नेता हुन् । त्यसको अर्थ उनको सन्देश सीधा जनताको हातमा पुगिरहेको छ ।

पीटीआईले कुन उम्मेदवारलाई समर्थन गर्छ भनी मतदाताहरूलाई थाहा दिन सघाउनसमेत प्रविधि उपयोग गर्ने प्रयासहरू भएका छन् । क्रिकेट ब्याटको एउटै चिह्न बिना पीटीआईले एउटा वेबसाइट बनाएको छ जहाँ मतदाताहरूले आफ्नो निर्वाचन क्षेत्रमा गएर पीटीआईसमर्थित उम्मेदवारको चिह्न फेला पार्न सक्छन् ।

लोकप्रिय क्रिकेटरबाट राजनीतिज्ञ बनेका इमरान खान हजारौँ मानिसहरूलाई आफ्नो जुलुसमा आकर्षित गर्न सक्ने नेताका रूपमा धेरैले ठान्छन् । तर अहिले उनी जेलमा छन् । उनी अगस्टदेखि जेलमा छन् र त्यसयता तीनमध्ये दुई वटा मुद्दामा सजाय पाएपछि उनी अर्को १४ वर्षसम्म जेलमा रहने सम्भावना छ । दललाई र्‍याली आयोजना गर्न समेत कठिनाइ भइरहेको छ । जनवरीको अन्तिमतिर कराचीमा सयौँ पीटीआई समर्थक जुटेको एक सभामा प्रहरीले अश्रुग्याँस प्रहार गरेको थियो । अधिकारीहरूले उनीहरूले भेला हुने अनुमति नलिएको बताए ।

उम्मेदवारहरूलाई चुनाव लड्न नदिन उनीहरूविरुद्ध उत्पीडन, अपहरण, र हिंसाको अभियान चलाइएको पीटीआईले आरोप लगाएको छ ।

पीटीआईले भर्चुअल र्‍याली गरिरहेको छ । भौतिक र्‍यालीहरूभन्दा अलि कम प्रभाव परे पनि आफ्नो कुरा बाहिर ल्याउन भर्चुअल र्‍याली गरिरहेको पीटीआईका नेताहरू बताउँछन् । गत डिसेम्बरमा उनीहरूले अनलाइन र्‍यालीको लागि भाषण तयार गर्न एआई प्रयोग गरेका थिए । खानले जेलबाट लेखेको भाषणका आधारमा अडियो क्लोन गरेर उनको भाषण तयार पारिएको थियो ।

पाकिस्तानको जनसङ्ख्याको ३० प्रतिशत मात्र सक्रिय सामाजिक सञ्जाल प्रयोगकर्ता छन् । यसले पीटीआईले जति राम्रोसँग सामाजिक सञ्जालमा आफ्ना कुरा राख्न सके पनि अनलाइन अभियानमा उनीहरूको पहुँचमा सीमाहरू हुनेछन् । एजेन्सीहरूको सहयोगमा

प्रकाशित मिति : २४ माघ २०८०, बुधबार  ११ : ४७ बजे