अर्थतन्त्र चलायमान हुँदैछ तर सिस्टममा ल्याउन अझै समय लाग्छ : अर्थमन्त्री महत



काठमाडौं ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र सकारात्मक भए पनि बजेटरी सिस्टममा समस्या भएको बताएका छन् । त्यसलाई सिस्टममा ल्याउन अझै केही समय लाग्ने उनले बताए । उनले विगतका सरकारहरूले अर्थतन्त्रको अवस्था विपरीत खर्च गरेको र त्यसको असर अहिलेसम्म पनि कायम रहेको दाबी गरे ।

इकोनोमिक मिडिया एशोसिएसन नेपाल (इमान)को पहिलो वार्षिक उत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री महतले विगतमा आवश्यकता र प्राथमिकताविना अनुत्पादक क्षेत्रमा खर्च भएकाले अहिले समस्या परिरहेको बताए । ‘अर्थतन्त्र विस्तारै चलायमान हुँदाहुँदै पनि हाम्रो बजेटरी सिस्टममा अझै समस्या छ । त्यसलाई सिस्टममा ल्याउन दुई वर्ष लाग्छ,’ मन्त्री महतले भने, ‘किनकी हिँजोका दिनमा धेरै अनुत्पादक क्षेत्रमा खर्च भयो । आवश्यकताभन्दा ठूला-ठूला संरचनामा खर्च भए । दीर्घकालीन आवश्यकता र प्राथमिकताविना खर्च भए ।’

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा एकसाथ ३९६ अस्पताल शिलान्यास भएको उदाहरण दिंदै उनले विगतको सरकारले पछि तिर्ने गरेर पहिल्यै खर्च गरेकाले त्यसको सम्पूर्ण दायित्व अहिलेको सरकारले व्यहोर्नु परिरहेको बताए ।

‘बेथितिबाट बजेट खर्च भएको थियो, बेथितिलाई थितीमा ल्याउन अझै समय लाग्छ,’ मन्त्री महतले भने । तर समग्रमा अर्थतन्त्र लयमा फर्किंदै गरेको बताउँदै उनले भने, ‘बाह्य क्षेत्र सकारात्मक छ । आन्तरिक क्षेत्र पनि सकारात्मक हुँदै गएको तथ्यांकले नै देखाएको छ ।’

अर्थमन्त्री महतले डबल हुन्छ भन्ने सोचेर मान्छेहरूले ऋण लिएर घरजग्गामा धेरै लगानी गर्दा घरजग्गाको व्यापार शिथिल बनेको बताए । परिस्थितिको राम्रो आकलन नै नगरी कारोबार गर्दा समस्या आएको उनको भनाइ थियो ।

‘ऋण लिने र दिने दुवैले स्थितिको मूल्याङ्कन गर्न नसकेको अवस्था देखिएको छ, त्यसैले ऋणीलाई मात्रै होइन, बैंकहरुलाई पनि कडाइ गर्नुपर्ने अवस्थाबारे राष्ट्र बैंकसँग समन्वय भएको छ,’ उनले भने ।

उनले अहिले ऋण लिएको रकम माफी मिनाहा गर्न सक्ने गरी सरकारको अवस्था नरहेको बताए । ‘ऋण लिएपछि जसरी पनि तिर्नु नै पर्छ । खाएपछि तिर्नुपर्छ । यस्तो भ्रममा नपर्नुहोला,’ उनले भने, ‘कसै–कसैले तपाईँलाई ठग्न पनि सक्छन् । अहिले ऋण मिनाहा गरिदिन्छु भन्दै मान्छेलाई भड्काउने काम भइरहेको देखेको छु । तर त्यो सम्भावना छैन ।’

प्रकाशित मिति : २४ माघ २०८०, बुधबार  ११ : ४४ बजे