साढे दुई वर्षीय छोरा र श्रीमतीको हत्या आरोपमा प्रहरी जवान पक्राउ



दाङ । साढे दुई वर्षीय छोरा र श्रीमतीको हत्या गरेको आरोपमा दाङमा एक प्रहरी जवान पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय, दाङमा कार्यरत प्रहरी जवान पिमलाल नेपालीलाई श्रीमती टीका विक र छोरा शुशान्तको हत्या गरेको आरोपमा पक्राउ गरिएको हो। उनले घोराहीस्थित एक होटलमा श्रीमती र छोराको हत्या गरेको पाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक (डीएसपी) जनकबहादुर मल्लले बताए।

रोल्पाको रुन्टिगढीका पिमलाल श्रीमती र छोरा सहित गएराति घोराहीस्थित होटेलमा बास बसेका थिए। प्रहरीका अनुसार, श्रीमती र छोरा शनिबार मात्रै रोल्पाबाट घोराही आएका थिए।

पिमलालले आइतबार बिहान श्रीमती र छोराको हत्या गरेको डीएसपी मल्लले जानकारी दिए। पिमलाल आफै जिल्ला प्रहरी कार्यालय पुगेर आफूले हत्या गरेको जानकारी गराएको डीएसपी मल्लको भनाइ छ।

“मैले श्रीमती र छोराको हत्या गरेँ भनेर प्रहरी जवान पिमलाल नेपालीले कार्यालयमा आएर भनेका थिएका छन्,” डीएसपी मल्लले भने, “पछि उनले भनेको होटेलमा गएर हेर्दा श्रीमती । छोराको शव कोठामा फेला परेको छ।”

किन हत्या गरे भने खुल्न बाँकी छ। पिमलाललाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको डीएसपी मल्लले बताए ।

प्रकाशित मिति : २१ माघ २०८०, आइतबार  ३ : ०१ बजे