किन घट्यो काठमाडौँमा जाडो?



केही दिनयता काठमाडौँ उपत्यकाको तापक्रम क्रमशः बढिरहेको छ।

४.५ डिग्री सेल्सियससम्म झरेको काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम अहिले ८ डिग्री सेल्सियसम्म उक्लिएको छ।

त्यसैले केही दिनयता काठमाडौँ उपत्यकामा बिहान कठ्यांग्रिँदो जाडो महसुस भएको छैन भने दिउँसो पनि तातो हुने गरेको छ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद्का अनुसार आज बिहान ६:४५ बजेको मापनमा पनि काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ८ डिग्री सेल्सियस देखिएको छ।

हिजो (बुधबार) यही समय काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम यत्ति नै थियो। तर पछि बिहान ८:४५ बजेको मापनमा ७.८ डिग्री सेल्सियस देखिएको थियो। आधिकारिक न्यूनतम तापक्रम भने यही थियो।

आज पनि काठमाडौँ उपत्यकाको आधिकारिक न्यूनतम तापक्रम अहिले ८:४५ बजे आउने मौसमविद्ले बताए।

यही पुस ५ गते काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ४‍‍.५ डिग्री सेल्सियसमा झरेको थियो। त्यसयता क्रमशः बढ्दै अहिले उपत्यकाको न्यूनतम तापक्रम ८ डिग्री सेल्सियसम्म उक्लिएको हो।

काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम पनि अहिले केही बढेको मौसमविद्ले बताए। ‘आज उपत्यकाको अधिकतम तापक्रम १८ देखि २० डिग्रीसम्म पुग्ने अनुमान गरिएको छ ।

केही दिनयता उल्लेखनीय मौसमी प्रणाली नभएकाले काठमाडौँ उपत्यकासहित लगभग देशभर तापक्रमको मात्रा केही बढेको मौसमविद्को भनाइ छ।

अहिले मुलुकमा उल्लेखनीय मौसमी प्रणाली छैन, चिसो ल्याउने पश्चिमी वायुको प्रभाव पनि खासै छैन ‘त्यसले गर्दा केही दिनयता तापक्रम केही बढेको अनुमान गरिएको छ ।

यो क्रम अझै कम्तीमा ३ दिनसम्म जारी रहने अनुमान गरिएको मौसमविद्ले बताए।

उनका अनुसार आज पनि काठमाडौँ उपत्यकामा घाम लाग्ने सम्भावना छ।

प्रकाशित मिति : १२ पुस २०८०, बिहिबार  १० : २१ बजे