सन्दीप विरुद्धको मुद्दामा अन्तिम बहस हुँदै, आजै फैसला आउने सम्भावना



काठमाडौँ– नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने विरुद्धको बलात्कार मुद्दामा आज पनि बहस हुँदैछ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासमा जारी बहस हिजो नसकिएपछि आजका लागि हेर्दाहेर्दैमा राखिएको थियो ।

हिजोको बहसमा जाहेरवाला र सरकारी वकिलहरूको बहस सकिएपछि सन्दीप पक्षका वकिलहरूको बहस सुरु भएको छ ।

सन्दीपका पक्षका वकिलको बहसपछि जाहेरवाला र सरकारी वकिलका तर्फबाट जवाफी बहस हुनेछ । जवाफी बहस सकिएपछि अन्तिम फैसला आउने छ । सम्भवतः आजै या भोलिसम्ममा यो मुद्दाले अन्तिम किनारा पाउने सम्भावना छ । २०७९ साल कात्तिक १४ गते पीडित भनिएकी किशोरीले सन्दीपले आफूमाथि बलात्कार गरेको भन्दै मुद्दा दायर गरेकी थिइन् । सो मुद्दामा दोषी ठहर भए सन्दीपले १० देखि १२ वर्षको जेल सजाय पाउने छन् ।

प्रकाशित मिति : १२ पुस २०८०, बिहिबार  १० : १६ बजे