नारायणगढ–मुग्लिन सडक आजदेखि दैनिक चार घण्टा बन्द हुने



नारायणगढ-मुग्लिन सडकखण्डको तुइन खोलामा पुल बनाउन भित्ता काट्नुपर्ने भएपछि आजदेखि दैनिक चार घण्टा सवारी साधन आवतजावत बन्द गरिँदै छ।

आज बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द रहने नागढुङ्गा-मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ-मुग्लिन)ले जनाएको छ। भिर भएको ठाउँमा पुल बनाउनुपर्ने भएकाले यातायात सेवा बन्द गरेर नै काम गर्न लागिएको हो।

चितवन र तनहुँतर्फका विभिन्न ६ स्थानमा सवारी साधन रोकिनेछन्। नागढुङ्गा-मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ-मुग्लिन) का सूचना अधिकारी कृष्ण आचार्यका अनुसार नारायणगढबाट मुग्लिनतर्फ जाने सवारी साधनमध्ये यात्रुवाहक सवारी साधन पन्ध्रकिलो बजारदेखि जुगेडीसम्म बिहान १०:४० बजेसम्म चलाउन पाइनेछ भने मालवाहक सवारी साधन भतेरी जङ्गलदेखि रामनगरसम्म बिहान १०:३० बजेसम्म चलाउन पाइनेछ।

काठमाडौंबाट आउने यात्रुवाहक सवारी साधन मुग्लिन बजारदेखि मनकामना केबुलकारसम्म बिहान १०ः५५ बजेसम्म तथा मालवाहक सवारी सधान १०:४५ बजेसम्म मात्र चलाउन पाइने सूचना अधिकारी आचार्यले बताए।

यसैगरी, पोखरातर्फबाट आउने यात्रुवाहक सवारी साधनलाई बिहान १०:५५ बजेदेखि बेनीटारदेखि पावरहाउससम्म र मालवाहक सवारी साधनलाई बिहान १०:४५ बजेदेखि सत्रसय फाँटमा रोकिनेछ। पहिलो चरणमा तीन साताका लागि सडक बन्द गरेर भित्ता काटिनेछ।

प्रकाशित मिति : ७ पुस २०८०, शनिबार  ५ : ३३ बजे