नक्कली कागजका आधारमा विदेश पठाएको आरोपमा ट्राभल्स सञ्चालक पक्राउ



नक्कली कागजातका आधारमा मिलेमतो गरी ‘भिजिट भिसा’मा विदेश पठाउने गरेको आरोपमा प्रहरीले एक ट्राभल्स सञ्चालकलाई पक्राउ गरेको छ।

मोरङको पथरी शनिश्चरे नगरपालिका-७ घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका-४ इमाडोल बस्ने सिटी टुर्स एन्ड ट्राभल्सका सञ्चालक ४५ वर्षीय विनोद कार्की पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रवीन्द्र रेग्मीले बताए।

भिजिट भिसामा विदेश जान लागेका युवाको शङ्कास्पद कागजात सहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले एक हजार ५१३ वटा राहदानी प्रहरीलाई बुझाएको थियो। त्यसमध्ये २४६ जनाको कागजातमा कक्षा १२ को प्रमाणपत्र, श्रम स्वीकृति, नाता प्रमाणित, प्रहरी रिपोर्ट र ब्यांक विवरण नक्कली देखिएका थियो।

नक्कली कागजातका आधारमा के-कसरी विदेश पठाइने रहेछ भन्ने विषयमा अनुसन्धान गर्दा एजेन्ट, कन्सलटेन्सी, ट्राभल्स एजेन्सीले एअरलाइन्सलाई प्रतिव्यक्ति १० हजारदेखि १५ हजार रुपैयाँसम्म र अध्यागमनका कर्मचारीलाई प्रतिव्यक्ति ४० हजारदेखि ५५ हजार रुपैयाँसम्म दिएर मिलाइ विदेश पठाउने खुलेको थियो।

त्यसमा संलग्न देखिएकाले ट्राभल्स सञ्चालक कार्कीलाई काठमाडौंको बल्खुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी परिसर टेकु पठाइएको प्रवक्ता रेग्मीले बताए।

प्रकाशित मिति : ७ पुस २०८०, शनिबार  ५ : २८ बजे