घरजग्गा बजारमा आएन सुधार, काठमाडौंमा पनि किनबेच सुस्त



सरकारको प्रोत्साहनका बावजूद घरजग्गा बजारमा अपेक्षित सुधार आएको छैन भने काठमाडौं लगायत प्रमुख शहरमा पनि किनबेच सुस्त देखिएको छ।

अर्थतन्त्रलाई चलायमान् बनाउन भन्दै सरकारले पछिल्ला महीनाहरूमा घरजग्गा बजारलाई उकास्ने एकपछि अर्को लचिलो नीति अघि सारिरहेको छ। गत साउनमा सरकारले कित्ताकाट खुलाएको थियो भने नेपाल राष्ट्र ब्यांकले घरजग्गा क्षेत्रमा जाने ब्यांकको कर्जालाई सजिलो बनाइदिएको छ। तैपनि घरजग्गा कारोबार अपेक्षित नबढेको तथ्यांकले देखाएको छ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार मंसीरमा देशभरि ४१ हजार ८५१ वटा घरजग्गाको किनबेच भएको छ। यो मासिक औसत कारोबारको तुलनामा सामान्य मात्रै बढी हो।

गत साउनमा ३९ हजार २६२ वटा घरजग्गाको किनबेच भएको थियो। भदौमा ३५ हजार ६८६, असोजमा ३९ हजार ७९३ र कात्तिकमा २६ हजार ४६ वटा घरजग्गाको किनबेच भएको थियो। कात्तिकमा चाडपर्वका कारण आधाभन्दा बढी अवधि सरकारी कार्यालय बिदा भएका कारण घरजग्गा कारोबार सुस्त हुन पुगेको थियो। मंसीरमा अघिल्ला महीनाको तुलनामा घरजग्गा किनबेच बढे पनि ठूलो सुधार भने देखिएको छैन।

दुई वर्षअघि एकै महीनामा ७० हजार हाराहारीमा घरजग्गा किनबेच हुने गरेकोमा गत वर्षदेखि नै घरजग्गा बजारमा शिथिलता देखिंदै आएको छ। २०६८ मंसीरमा देशभरि ६९ हजार ४१२ वटा घरजग्गा कारोबार भएका थिए। घरजग्गा किनबेचलाई बढाउन सरकारले विभिन्न लचिला नीति अघि सारिरहेको भए पनि अपेक्षित परिणाम दिएको छैन।

प्रकाशित मिति : २ पुस २०८०, सोमबार  ९ : ४० बजे