हमासले बन्दी बनाएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि पहल गरिदिन नेपालले कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल-थानीसँग आग्रह गरेको छ।
कतार भ्रमणका रहेका परराष्ट्रमन्त्री एनपी साउदले सोमबार प्रधानमन्त्री अल-थानीसँगको शिष्टाचार भेटवार्ताका क्रममा विपिनको रिहाइका लागि पहल गरिदिन आग्रह गरेका हुन्। कतारको राजधानी दोहामा भएको भेटवार्ताका क्रममा परराष्ट्रमन्त्री साउदले हमासले बन्दी बनाएका विपिनको शीघ्र रिहाइका लागि पहल गरिदिन विशेष अनुरोध गरेको मन्त्रीका स्वकीय सचिव दीपक जोशीले बताएका छन्।
परराष्ट्रमन्त्री साउदले हमाससँग कतारको सम्पर्क, मध्यपूर्वको समस्यामा कतारले निर्वाह गरिरहेको सक्रिय मध्यस्थकर्ताको भूमिका एवम् कतार र नेपालबीचको जनस्तर लगायतको गहिरो र मित्रवत् सम्बन्धका आधारमा यस मानवीय मामिलामा कतार अधिराज्यसँग नेपाल सरकारले उच्च आशा गरेको बताए।
जवाफमा कतारका प्रधानमन्त्री अल-थानीले विपिन लगायत विदेशी बन्दीको रिहाइका लागि कतार सरकारले उच्च प्रयास गरिरहेको बताएका थिए। उनले चाँडै सकारात्मक परिणाम आउन सक्ने संकेत समेत गरेको परराष्ट्रमन्त्रीको सचिवालयले जनाएको छ।
परराष्ट्रमन्त्री साउद दोहामा जारी विभिन्न मुलुकका राष्ट्रप्रमुख, सरकारप्रमुख, विदेशमन्त्री, निजी क्षेत्र, विषयविज्ञ, सञ्चारकर्मी सम्मिलित दोहा फोरम २०२३ मा सहभागी भएका छन्।
प्रतिक्रिया