एमाले सरकारमा नभएपछि विकासका काम रोकिनु स्वभाविक : केपी ओली



नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले सरकारमा नभएपछि विकास निर्माणमा ढिला सुस्ती हुनु स्वभाविकै भएको बताएका छन्।

मध्यपहाडी लोकमार्ग विशेष अभियान (झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा) अन्तर्गत आइतबार नुवाकोटमा आयोजित अन्तरक्रियालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले सरकारमा भएपपछि विकास नहुनु, भएपनि सुस्त हुनु र काम रोकिनु स्वभाविक भएको बताए।

आफू नेतृत्वको सरकारको साढे ३ वर्षको अवधिमा असाधारण काम गरेको स्मरण गर्दै उनले एमाले सरकारबाट बाहिरिएपछि विकास निर्माणका काम ठप्प भएका बताए। चीनसँग आवागमनलाई सहज बनाउन टोखा-छहरे सुरुङमार्ग बनाउने लगायत योजना अगाडि सारेको अध्यक्ष ओलीले बताए।

एमाले नेतृत्वको सरकारले विकासका धेरै काम सुरुआत गरे पनि अहिलेको गठबन्धा सरकारले त्यसमा ध्यान केन्द्रित गर्न नसकेको उनले बताए।

‘गल्छी-मैलुङ-रसुवागढी बाटो बनाउने काम थाल्यौँ, चीनसँगको आवागमनलाई सहज बनाउन टोखा-छहरे सुरुङमार्ग निर्माण योजना अगाडि सार्‍यौँ, २४ किलोमिटर स्याप्रुबेंसी-बेत्राबती खण्डलाई सुरुङ बनाएर योजना अघि सार्‍यौँ, त्यसले रेलमार्गका लागि सहज बनाउँछ, काठमाडौंबाट दिल्ली र काठमाडौंबाट बेइजिङ कनेक्सन दुवैतिर सजिलो बनाउँछ।’

उनले रक्सौल-काठमाडौं रेलका लागि भारतले र चीनले पनि काम गरिरहेको बताए। ‘हामी सरकारमा छैनौं त्यकारण केही बिलम्ब भएको छ, हामी सरकारमा नभएपछि ढिलाढाला हुनु, सुस्त हुनु, काम रोकिनु स्वभाविकै हो, जसले जति सक्छ त्यति न गर्छ’, उनले भने।

एमाले नेतृत्वको सरकारले मध्यपहाडी राजमार्ग जहाँसम्म पुर्‍याएको थियो, त्यहीँसम्म पुगेर काम रोकिएको पनि उनले बताए। ‘केही खण्ड हेर्नै आएका हौँ, हामी, २१ किलोमिटर त ट्रयाक त बनाइएको रहेनछ, त्यसमध्ये १८ किलोमिटर अहिले वनले स्वीकृति दिएर अब बन्ला कि भनेर भनेर आशा पलाएको रहेछ, तीन किलोमिटरको अझै कहाँबाट ट्रयाक जाने भन्ने टुंगो छैन, अनिश्चितता छ, यो बाटो अबिलम्ब बन्नुपर्छ, जनताको असुविधासँग मात्र होइन यहाँको आर्थिक उन्नती र विकास सबैसँग जोडिएको छ’, उनले भने।

एमाले नेतृत्वको सरकार पोखरा र भैरहवामा विमानस्थल बनाएपनि अहिलेको सरकारले ती विमानस्थल चलाउन नसकेको भन्दै उनले सरकारलाई हुतिहाराको संज्ञा दिए। नेपाल स्वाधीन स्वतन्त्र देश भएकाले आफैँले त्यसको सम्मान गर्न सक्नुपर्ने अध्यक्ष ओलीले बताए।

 

प्रकाशित मिति : २४ मंसिर २०८०, आइतबार  ५ : १२ बजे