फाइल पुग्न आर्मीसँग भिड्दै सन्दीप नेतृत्वको बागमती



पोखरामा जारी प्रथम केपी ओली कप टी–२० क्रिकेट प्रतियोगितामा पहिलो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लब र बागमती प्रदेश खेल्दै छन् । यी दुई टिमबीचको खेल बिहीबार बिहान ९ बजेदेखि पोखरा क्रिकेट ग्राउन्डमा सुरु हुनेछ ।

बागमती र आर्मी समूह विजेताका रूपमा सेमिफाइनल पुगेका थिए । सेमिफाइनलमा पनि दुवै टिम जित निकाल्दै उपाधि नजिक पुग्न चाहन्छन् । ​सन्दीप लामिछाने नेतृत्वको बागमतीले समूह चरणमा आयोजक मदन भण्डारी स्पोट्स एकेडेमी रेडलाई १०९ तथा कर्णाली प्रदेशलाई ९० रनले हराएको थियो ।

यता आर्मी मदन भण्डारी स्पोर्ट्स एकेडेमी ब्लुलाई ११० तथा कोशी प्रदेशलाई ३९ रनले हराउँदै सेमिफाइनलको यात्रा गर्न सफल भयो । जारी प्रतियोगितामा आर्मीको टिममा रहेका सन्तोष कार्की, भीम सार्की, कुशल मल्ललगायत खेलाडी राम्रो लयमा छन् ।

यस्तै, बागमतीको टिममा रहेका सन्दीप लामिछाने, रित गौतम र इशान पाण्डे उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । सन्दीपले समूह चरणको दुवै खेलमा ४/४ विकेटले लिएका थिए । यस्तै, रितले दुवै खेलमा अर्धशतकीय इनिङ खेले ।

उनीहरू अन्तर्राष्ट्रिय क्रिकेटको अनुभव प्राप्त खेलाडीले भरिपूर्ण आर्मीविरुद्ध पनि सानदार प्रदर्शन गर्ने योजनामा छन् । आर्मीको टिममा विनोद भण्डारी, सोमपाल कामी, रोहित पौडेल, कुशल मल्ल, भीम सार्की, विवेक यादव, जितेन्द्र मुखिया, साहब आलम, बसिर अहमदलगायत अनुभवी खेलाडी छन् ।

बागमतीमा भने राष्ट्रिय टिमबाट खेलेका तीन खेलाडी मात्र छन् । बागमतीमा सन्दीपसहित प्रतिस जिसी र इशान पाण्डे मात्र राष्ट्रिय क्रिकेट रहेका हुन् । बिहीबार नै हुने दोस्रो सेमिफाइनलमा मधेश प्रदेशले नेपाल एपिएफ क्लबको सामना गर्नेछ ।

यी दुई टिमबीचको खेल दिउँसो १ बजेदेखि पोखरा क्रिकेट ग्राउन्डमै सुरु हुनेछ । मधेश समूह चरणमा पुलिस क्लब र सुदूरपश्चिमलाई नेट रनरेटमा पछि पार्दै सेमिफाइनलमा पुगेको हो । यस्तै, एपिएफ समूह ‘बी’ विजेताको रूपमा सेमिफाइनल पुग्न सफल भयो । उसले समूह चरणमा गण्डकीविरुद्ध ४ विकेटको हार बेहोर्दा लुम्बिनी प्रदेशलाई ८४ रनले हराएको थियो । प्रतियोगिातको फाइनल खेल शुक्रबार हुनेछ । उपाधि विजेता टिमले ५ लाख तथा उपविजेता टोलीले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ ।

प्रकाशित मिति : १४ मंसिर २०८०, बिहिबार  १२ : १६ बजे