चर्चित अमेरिकी कूटनीतिज्ञ हेनरी किसिन्जरको १०० वर्षमा निधन



किसिन्जरको बिहीबार गृहनगर कनेक्टिकटमा निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। १८ मे १९२३ मा जर्मनीमा जन्मिएका किसिन्जर अमेरिकामा हुर्किएका थिए।

किसिन्जरले अमेरिकी राष्ट्रपति रिचार्ड निक्सन र जेराल्ड फर्डको कार्यकालमा अमेरिकी विदेश नीतिलाई निर्देशित गरेका थिए। उनी नोबेल शान्ति पुरस्कारबाट सम्मानित थिए।

भियतनाम युद्धमा अमेरिकी सैनिक फिर्तीमा मध्यस्थता गरेकाले उनी नोबेल शान्ति पुरस्कारको हकदार थिए। तर अर्कातिर कम्बोडियामा बमबारी गर्ने राष्ट्रपति निक्सनको कदमलाई समर्थन गरेको हुँदा त्यहाँ भएको हजारौंको मृत्युको दोष उनीमाथि लागेको थियो।

अमेरिकी राजनीतिमा सधैं प्रभावशााली व्यक्तित्व बनाएका किसिन्जरले अमेरिकी विदेश नीतिलाई सधैं कुनै न कुनै रूपमा निर्देशित गरेका थिए। उनले सन् २०१७ मा रसियाले क्रिमियालाई आफ्नो भूमिमा विलय गराएको कदमलाई पनि समर्थन गर्न राष्ट्रपति डोनल्ड ट्रम्पलाई सल्लाह दिएका थिए।

उनी अन्तिम समयसम्म काममा सक्रिय थिए। उनले गत जुलाईमा सय वर्षको उमेर चिनियाँ राष्ट्रपति सी चिनफिङसँग पनि भेट गरेका थिए।

शीतयुद्धको समयमा रसिया र चीनसँग अमेरिकी सम्बन्ध स्थापित गर्न उनको भूमिका रहेको थियो।

प्रकाशित मिति : १४ मंसिर २०८०, बिहिबार  १२ : १२ बजे