योगेश भट्टराई सवार गाडीमा ढुङ्गा प्रहार



नेकपा (एमाले)का नेता योगेशकुमार भट्टराई चढेको गाडीमा ढुङ्गा प्रहार भएको छ।

एमाले ताप्लेजुङले आइतबार आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सकेर फर्किने क्रममा फुङलिङको तोक्मे बजार नजिकै भट्टराई सवार गाडीमा ढुङ्गा प्रहार भएको हो।

ढुङ्गा प्रहारबाट गाडीको अगाडिको सिसामा क्षति भएको जिल्ला प्रहरी कार्यालय, ताप्लेजुङले जनाएको छ। ढुङ्गा प्रहार पहिचान पक्षधरबाट भएको प्रहरीको भनाइ छ।

प्रहरीले स्कटिङ गराएर लैजाँदै गर्दा केही पहिचान पक्षधर युवाले लुकेर ढुङ्गा प्रहार गरी फरार भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। ढुङ्गा प्रहारबाट अन्य क्षति भएको छैन।

यसअघि आइतबार बिहान पहिचान पक्षधरले पहिचान विरोधी भन्दै भट्टराई निवास अगाडि कालो झन्डा सहित नाराबाजी गरेका थिए। त्यसका क्रममा एमालेका कार्यकर्ता र प्रदर्शनकारीबीच घम्साघम्सी पनि भएको थियो।

प्रकाशित मिति : १० मंसिर २०८०, आइतबार  १० : १२ बजे