धार्मिक तनाव चुलिएपछि नेपालगञ्जमा सेना परिचालन



दुई धार्मिक समूहबीचको तनाव चुलिएपछि बाँकेको नेपालगञ्जमा सेना परिचालन गरिएको छ।

दुई धार्मिक समूहहरुबीच झडप भएपछि स्थितिलाई नियन्त्रणमा लिन सेना परिचालन गरिएको हो।

नेपालगञ्जमा भएको झडप बढ्दै जाँदा सम्भावित दुर्घटना रोक्न सेना उतारिएको हो। मंगलबार मात्रै झडपका क्रममा प्रहरीले दुई दर्जनभन्दा बढी अश्रुग्यास हानेको थियो।

मंगलबार साँझसम्म आठजना घाइते भएका छन्। जिल्ला प्रशासन कार्यालय बाँकेकले मंगलबार दिउँसो १ बजेदेखि कर्फ्यु लगाएको छ। तर पनि अवस्था अझै नियन्त्रणमा आउन सकेको छैन।

सोमबार मुस्लिम समुदायले गरेको विरोध प्रदर्शन र मंगलबार ओमकार परिवार हिन्दु समाजले निकालेको र्‍यालीपछि त्यहाँको अवस्था तनावग्रस्त भएको हो।

नगरका विभिन्न ठाउँमा दुई समूहबीच ढुंगा हानाहान भएको छ। प्रहरीले दुई दर्जन सेल अश्रुग्यास हानेको छ।

साँझ झडप रोकिएको छ। तर ठूलो संख्यामा सेना, प्रहरी र सशस्त्र प्रहरी नगरका गल्ली–गल्लीमा खटिएका छन्।

असोज १४ गते सामाजिक सञ्जालमा मुस्लिम समुदायलाई लक्षित गरी लेखिएको स्टाटसका कारण यो तनाव चुलिएको हो।

त्यसपछि मुस्लिम समुदायले गरेको विरोध प्रदर्शनका कारण उत्पन्न परिस्थिति तथा ओमकार परिवार हिन्दू समाजले निकालेको र्‍यालीका क्रममा विवाद उत्पन्न भएको हो।

त्यसपछि नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा सार्वजनिक सम्पत्ति तोडफोड, ढुंगामुढा प्रहार र अराजक गतिविधि भएका थिए।

त्यहीकारण सर्वसाधारणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिम र शान्ति भंग हुने स्थिति देखिएकाले कर्फ्यु आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ।

प्रकाशित मिति : १७ आश्विन २०८०, बुधबार  १२ : ११ बजे