एमालेका तीन सय जनाले लिए उम्मेदवारी फिर्ता



ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा जारी निर्वाचन प्रक्रियाका लागि पूर्व निर्धारितभन्दा एक दिन ढिलो गरी उम्मेदवारी फिर्ताको क्रम चलेको हो। मनोनयन दर्ता गरेका उम्मेदवारले फिर्ता लिने क्रम जारी रहेको एमालेले जनाएको छ।

निर्वाचन समितिका सदस्य ताराकुमार श्रेष्ठका अनुसार २४० पदका लागि प्राप्त ५४८ जनाले उम्मेदवारी दिएका थिए। त्यसमध्ये सहमतिका आधारमा हालसम्म तीन सयले उम्मेदवारी फिर्ता लिएको श्रेष्ठले बताए। उनका अझै पनि उम्मेदवारी फिर्ता गराउने प्रयास जारी रहेको छ।

फिर्ता लिने प्रक्रिया सकिएपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गनिरे उनले बताए। विद्युतीय मतदान मेसिनका उम्मेदवारको विवरण प्रविष्ट गरेपछि निर्वाचन शुरू हुनेछ।

बागमती प्रदेश अध्यक्षका लागि कैलाश ढुङ्गेल, कृष्णप्रसाद दाहाल, सानुकुमार श्रेष्ठ र केशर बुढाथोकीले उम्मेदवारी र्दिएका छन्। अध्यक्ष पदमा वारेसमार्फत केशवराज पाण्डेले पनि उम्मेदवारी दिएका थिए। तर, निर्वाचन समितिले पाण्डेको उम्मेदवारीलाई मान्यता नदिएको जनाएको छ।

असोज ८ गते भृकुटीमण्डपमा एमालेका केपी शर्मा ओली अधिवेशनको उद्घाटन गरेका थिए। त्यसपछि कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा बन्दसत्र चलेको थियो।

आज एमाले केन्द्रीय कार्यालयमा निर्वाचन प्रक्रिया चलिरहेको छ। उम्मेदवारको टुंगो लागेपछि मतदान प्रक्रिया अघि बढ्ने श्रेष्ठले बताए।

प्रकाशित मिति : १२ आश्विन २०८०, शुक्रबार  ९ : ४५ बजे